न्युयोर्क, मंसिर १५ - पहिलो पटक हर्मोन थेरापी र शल्यक्रिया गरेर लिङ्ग परिवर्तन गरिएको घटनाको यो हप्ता ६० बर्ष पूरा हुँदैछ । न्यूयोर्कका २७ बर्षे ठिटो जर्ज जर्जेन्सन लिङ्ग परिवर्तन गरी सुन्दर युवतीमा रुप फेरेपछि त्यो बेलाको समाजमा हंगामा फैलिएको थियो । शल्यक्रिर्याबाट लिङ्ग परिवर्तन र हर्मोन थेरापीबाट स्वरुप परिवर्तन गरेपछिको क्रिस्टिन जोर्जेन्सन त्यो समाजको लागि एउटा नामूद पात्र थिइन् ।
हर्मोन थेरापीमार्फत् पशुको लिङ्ग परिवर्तनको अध्ययन गरिरहेको चिकित्सक क्रिस्चियन ह्याम्बर्गरको बारेमा सुनेका जोर्जेन्सन् जब आफ्नो उद्देश्यबारे कसैलाई थाहै नदिई डेनमार्क पुगिन् । उनलाई ढुङ्ता खोज्दा देउता मिलेझैं भयो । हर्मोन थेरापीबाट पशुको लिङ्ग परिवर्तनमा अभ्यस्त ह्याम्बर्गरले उनलाई निराश पारेनन् । बरु हर्मोन थेरापीमार्फत् उनको शरीका अङ्गअङ्गमा परिवर्तनको आभाष दिलाइदिए । केही महिनामै उनको स्तन र नितम्बहरु महिलाको स्वरुपमा परिवर्तन हुँदै गए । र, डेनमार्क सरकारसँग अनुमति लिएर तिनै ह्याम्बर्गरले अन्य चिकित्सकको सहयोगमा उनको लिङ्गमा कैची चलाईदिए ।
त्यो बेलाका समाजमा लिङ्ग परिवर्तनको साहस बटुलेर हंगामा मच्चाउने जर्जेन्सन आज हामीमाझ् नभएपनि अहिले लिङ्ग परिवर्तन गराउने हजारौले आँट गर्न सकेका छन् । 'हामीले लैङिगक क्रान्ति गरेका छैनौं, बरु एक धक्का दिएको मात्रै छौं ।', मृत्युको केही बर्षअघि उनले भनेकी छिन् ।
डेनमार्कबाट महिला स्वरुपमा फर्किएकी उनलाई हेर्नेको मात्रै भीड लागेको थिएन् । उनले हलिउड र नाटकका थुप्रै अभिनयको अफर पाएकी थिइन् । तर, आफ्नो दुवै विवाह असफल भएपछि एक्लिएकी उनले जीवन सहारा भने पाइनन् । ६२ बर्षको उमेरमा सन् १९८९ मा उनको निधन भएको हो । 'प्रकृतिले ममाथि गल्ती गरेको छ जसलाई म आफैं सच्याएको छु, अब म तपाइकी छोरी भएँ', लिङ्ग परिवर्तन पछि आफ्नो अभिभावकलाई लेखेको मार्मिक पत्रमा उनले भनेकी थिइन् ।
विश्वमा चारहजार पाँचसय पुरुषमा एकजना र ८ हजार महिलामा एक महिलाले लिङ्ग परिवर्तन गर्ने गरेको तथ्यांक छ । विश्वमा लिङ्ग परिवर्तन गराउनेहरु बर्षेनी ११ प्रतिशतका दरले बढ्दो छ । लिङ्ग परिवर्तनको शल्यक्रिर्यामध्ये ८० प्रतिशत पुरुषबाट महिला बन्नको लागि हुन्छ ।
१० महिनाअघि हास्य कलाकार सन्तोष पन्तका छोरा प्रतिक पन्त थाइल्यान्डमा शल्यक्रिर्यापश्चात् क्याटलिन पन्तमा बदलिएको चर्चा अघि सेलाइसकेको छैन् । उनलाई नेपालको पहिलो लिङ्ग परिवर्तन गराउने व्यक्तिको रुपमा चिनाइए पनि सार्वजनिक नभई यसअघि धेरैले शल्यक्रिर्या गरी लिङ्ग परिवर्तन गराए
को अनुमान गरिएको छ ।