भाँडिएको त्यो दिन
तेलको भाउ पनि बढ्यो क्यारे हाम्रो गाम तिर --फेरी साईकल चढ्ने बेला भो जस्तो छ -- मौसम पनि अचेल यता जाडैको छ, अनि यै जाडोमा एक ताका भाँडीएको दिनको सम्झना आयो। कुरा पुरानै हो।
जाडोको छुट्टी थ्यो। चियाको चुस्की सँगै गीत सुनेर कोठामा ढल्किरा थें --ट्वाक आयो।
"ए हिन ढिस्काँ जाउँ -- के बसीरनी घराँ? अहिले सित्तैंमा एउटा काम लाउँछन" मेरो कोठामा पस्दा पस्दै उस्ले भन्यो।
कुरा त उस्ले मुनासिब गर्या हो। घराँ बसेसी दुईटा कुरा हुन्थ्यो। एउटा आफुलाई गर्न मन नलाग्या काम लाउँथे अर्को उपदेश दिन थाल्थे। दुईटैमा आफ्नो बितृष्णा।
"काँ ढिस्काँ जानी यो जाडाँ?" जाडो सम्झेर मैले सोधें।
"भण्डारखालको नी अरु काँ को?" उस्ले छ्यास्स हाँसेर भन्यो।
भण्डारखाल पर्खाल पस्चिमको त्यो ढिस्काँ बेला बखत बस्ने गरेकै हो। बलौटे ढिस्काँ बसेर धुबाँ र गफ उडाउँदाको मजै बेग्लै थ्यो। पर्खालको दखिन पट्टी पर्या भ्वाङ्गबाट भित्र पनि छिर्न पर्थ्यो कैले काईँ। त्यस्तै थ्यो जिन्दगी।
"गै हाल्ने? चिया सिया खाएर जाने कि?" उस्लाई सोधें। घराँ आ साथी आफु चै चिया तान्नी उस्लाई चैं सोध्न पनि नसोध्ने त भएन नी।
"यस्तो जाडाँ यो तातो चिया खाएर कैले ज्यान तताउनी? " उस्ले थप्दै भन्यो "हिराले हिरा काटछ भन्या जस्तो यो जाडोलाई पनि चिसै आगोले सिध्याउनु पर्छ, बुझिनस?" उस्ले अनुबादमा उखान जोडेर संकेत गर्या कुरो नै जिन्दगीको चुरो थ्यो त्यतिबेला-- नबुझ्ने कुरै थिएन।
"ल हिन त जाम" ज्याकेट लाउँदै मैले भनें। हामी निस्केम।
उस्ले साईकल लिएर आएको रहेछ। म डण्डीमा बसें। क्यारिअर थिएन। ट्वाकले भन्यो "सुपारी पनि जान्थ्यो कि?"
"हिन्न त सोधम" मैले भनें। ढिस्का कार्यक्रममा जति धेरै साथि भयो उति रमाईलो।
सुपारीकाँ पुग्या घरमै रे छ।
"ए, हिन --" भन्या "काँ?" पनि नसोधी "पख न ह्याँ इन्स्पेटरले सुधालाई फकाउँदै छ क्या--" भन्यो।
"को सुधा?" मैले सोधें।
"सुधा --- घरमा एक्लै छे के--तर लाज मान्दैछे रे अलि अलि भन्छ -- बबाल होला जस्तो छ यार" सुपारी त जोस्सियो।
"उ एक्लै भएर तँलाई के त? तँ इन्स्पेटर त हैन नी" मैले भनें।
"यस्तै किताबहरु पढ्छस र त सुकेनस लाग्छ त तँलाई -- ल हिन" ट्वाकले सुपारीले पढ्दै गर्या मनोहर कहानियाँ हातबाट तान्दै भन्यो।
"काँ जानी?" सुपारीले अलिकति अलमलिदै अलिकति झर्किदै सोध्यो।
"ढिस्काँ" मैले भनें।
सुपारीले ट्वाकलाई हेर्दै सोध्यो "भण्डारखालको?"
"अँ-- कि जान्नस?" ट्वाकको अनुहारमा कुटील मुस्कान प्रस्टै देखिन्थ्यो।
ट्वाकको संकेत सुपारीलाई स्पस्टै थ्यो -- "किन नजानु नी?" सुपारी अहिले भने झर्किएन बरु दङ्ग पर्यो।
बाहिर आए पछि हामी साईकलमा आएको देखेर भन्यो "ल! अब म कसरी जानी? क्यारीअर छैन रे छ -- डण्डीमा दुई जना बस्न मिल्दैन।"
कुरा त हो।
ट्वाकले सुपारीको ढोकै छेउ राख्या साईकल हेर्दै सोध्यो। "कस्को साईकल नी यो नयाँ?"
"त्यो साईकल त नहेरे नी हुन्छ बाउ! काकाको हो त्यो -- दिने त चान्सै छैन।" सुपारीले सुनायो।
"कस्ले माग्न ला छ र दिने नदिने कुरा आयो ? " ट्वाकले साईकल नजिकै गएर ताल्चा हेर्दै सोध्यो "खै तेरो काका?"
"बाउ र काका बाहीर गा छन --डाक्टरकाँ बजैलाई देखाउन।" सुपारीले सुनायो।
"कति खेर गा?" मैले सोधें।
"भरखरै हो --- तर म यो साइकल लान्न -- साँचो पनि छैन म सँग" सुपारीले हाम्रो सुर बुझ्या हुनु पर्छ।
"तँ नलैजा भै हाल्यो नी -- तँ मेरो साईकलमा आइज -- म लान्छु यो -- " ट्वाकले भन्यो।
"नाईँ नाईँ -- हुन्न --- केही भयो साईकललाई भने त काकाले चेट पार्दिन्छन मलाई" सुपारी डरायो।
"केही हुन्न -- म चलाउँछु क्या -- केई भए मेरो जिम्मा ल" ट्वाकले सम्झायो।
"तर साँचो छैन म सँग" सुपारीको स्वरमा अझै डर थ्यो।
"चाँहिदैन साँचो" ट्वाकले भित्र गएर त्यो भोगटेको बोट मुनी बाट एउटा तार ल्याएर ताल्चा खोल्यो।
म पनि नयाँ छोडेर किन पुरानो साईकल चढ्ने? म र ट्वाक त्यो नयाँ साईकलमा चढिम -- सुपारी ट्वाकको साईकलमा।
"बाङ्गेलाई पनि लैजाम न -- गाँठ पनि खर्च नहुने मजा पनि आउने -- त्यस्ले गतिलो झोल ल्याउँछ -- केई न केई त त्यस्का सधै हुन्छ।" मैले भनें।
"बाङ्गे काँ हिन त" ट्वाकले सुपारीलाई भन्यो। साईकल मोडाएर हामी बाङ्गे को घर तिर लागिम।
बांग्गेकाँ पुगे पछि ट्वाकले "ल जा बाङ्गेलाई लिएर आईज -- बुझिस हैन?" भन्यो।
म हाँस्दै छिरेँ पातकीको घर भित्र। अघोरी घरमै रे छ। संक्षिप्त बार्ता र समझदारी पछी म उस्को आमा सँग दुई शब्द बोल्न थालें। बाङ्गे झोला बोकेर छडकियो। समझदारी अनुसार कार्ययोजना अघि बढेको देखे पछि म पनि हुलाक जाने काम छ भन्दै बिदा भएँ।
हामी कोटालटोलको मोड पुग्दा सुपारी बाङ्गेलाई डबललोड परै अझै स्याँ स्याँ गर्दै थ्यो। "यै ताल हो भने भोली पुगिन्छ ढिस्काँ" ट्वाकले भन्यो। मैले सिट्ठी बजाएर छिटो आउन भनें। साईकल रोकियो। सुपारी डण्डीमा आयो, बाङ्गे चालक भो। साईकल बत्तियो।
खाल्डो, जोल्टिङ्ग आयो कि सुपारी "बिस्तारै गर है बिस्तारै" भन्थ्यो ट्वाकलाई। दिक्कै पार्यो। अनि ट्वाकले "अब फेरी एक चोटी भनीस भने कालोपुलाँ लगेर जोत्दिन्छु" भने पछि बल्ल सुपारी चुप लाग्यो। ज्ञानेस्वरबाट आउने त्यो ओरालो नभेटेसम्मको घुम्ति र तेर्सो बाटो नयाँ साईकलको टीरीरीरी सुन्दै काटियो।
कालो पुल तरेसी दाईने बत्तेर ढिस्को तिर लागिम। अनि त्यो घच्ची ढिस्काँ साइकल पुर्याउन त घिच्याउनै पर्यो।
ढिस्का पुगेसी चाइने नचाइने कुरा निस्किने नै भए -- ट्वाकको पोको पनि खुल्यो -- बांग्गेको झोला पनि। मैतिदेबी हुँदै पर डाँडा सम्म के के नै देखिन्छ झै गर्दै हेर्दै कार्यक्रम चलेकै थ्यो। "हिन हिन ढिलो भो भनीस भने तेरो साईकललाई जान्या छ मैले -- टाईम भए पछि जाने हो -- मलाई था छ तेरो काका फर्किनु अघि नै साईकल फिर्ता लाने हो -- बुझीस?" कार्यक्रमको सुरुमै ट्वाकले सुपारीलाई सम्झाएको थ्यो। त्यसैले सुपारीले केही भनेको थिएन।
त्यो रातो पुल पुग्नु अघि नै दाईने पट्टीको रातो घराँ भएकी सुन्दरीको कुरा हुँदै थ्यो उस्कै कौसी नियाल्दै -- "यो ढिस्काट त यसरी कुदाउनु पर्छ साईकल" बाङ्गे गर्जेको सुनियो। भित्ता चिस्याउन गा जस्तो लाग्या थ्यो मारोगी कुन सडको सुपारीको साइकल ढिस्काट ओराल्न सुरु गरी सकेछ।
"ए बाँग्गे ए!" हामी सबै एकै स्वरले कराईम। सुपारीको स्वर सबै भन्दा चर्को थ्यो।
हेर्दा हेर्दै साईकल र बाङ्गे गुटमुटीए--साईकलबाट बांग्गे उछ्छिटियो--साईकल एका तिर बाङ्गे अर्कै तिर --।
एकै सासाँ हामी हाम्फाल्दै ओर्लिम।
सुपारीले साईकल उठाउँदै कतै ठुलै चोट लाग्यो कि त्यस्को काकाको नासोलाई भनेर हेर्यो। त्यस्तो केही देखिएन। उस्ले लामो सास फेर्यो। बांग्गे पनि उठेर "कस्तो कन्टोलै भएन यार" भन्दै आयो।
सुपारीले प्याडल उल्टो घुमाउन भनेर बल लायो। प्याडल आधि घुमेसी ठ्यान्ङ्ग गरेर अडकियो। पुरा नघुम्ने भएछ।
"पट्याँस बिहारी माल किनेसी यस्तै हुन्छ -- चाईनिज किन्या भे यस्तो हुन्थ्यो र? तेरो काका नी झुर रे छ -- दुई पैसा बचाउन लाई भनेर इण्डीयन माल किन्या होला -- ल हेर बिजोग अब" बाङ्गे त सरी भन्नु त कता हो कता उपदेश पो दिन थाल्यो।
सुपारी रीसले आगो भो।
अनि हाम्ले नी बाङ्गेलाई गाली गरेसी " ल ल सुपारी तँ पिर नगर न म ठिक पार्दीहाल्छु नी भनेर त्यो बाङ्ग्या प्याडल सोझ्याउने रे भनेर सँगैको ढुङ्गाले एक दुई चोटी कराउँदा कराउँदै बजाई हाल्यो। प्याडल त के सोझिन्थ्यो बरु त्यो ढुङ्गाले यता र उता ठोक्या दाग प्रस्टै देखियो।
"के आईडियाले बना रे छ हँ यो साईकल? बाङ्गीन चै बाङ्गीने रे सोझिन चै नसोझिने?" बाङ्गे एक्लै फतफताउँदै थ्यो।
सुपारीले ट्वाकलाई हेर्दै करायो "ल अब के गर्ने हो तैं गर --जिम्मा लिन्छु भन्ने तैं हो क्यारे"
"मैले पछार्या हो र? जस्ले पछार्या हो उसैलाई भन्न" ट्वाक पनि हच्कियो -- नयाँ साईकल त्यसरी घाईते भा देखेर।
सुपारीले पालै पालो हाम्लाई हेर्दै थ्यो-- बाङ्गे चै दुईटै हातले टाउको समात्दै "धोतीले डुबायो" भन्दै थ्याच्च बस्यो।