आज भोलि सपना अनि विपनामा
एउटै कुरा सोचिरहन्छु
राजनीतिमा युवा भन्दै
नेता बन्ने हुटहुटीमा
देशका त्यो शक्तिशाली कूर्सी अनि म ।
हजारौं कार्यकर्ता अघिपछि
थुप्रै क्यामरा दाँयबाँया
झूठा आश्वाशन सहितको चर्को भाषण
गड्गडाहड ताली
दिनैपिच्छेको राष्ट्रिय खबर अनि मेरो भाइरल फोटो ।
सरकारी हाकिमसाब र व्यवसायीहरुको
फोनकल, दर्शनभेट अनि उपहार
तिनीहरुको सरुवा बढुवा निर्देशन र स्वार्थलाभ
नातागोता, आसेपासेलाई रोजगारी र अवसर
वाउ ! मेरो त्यो सपनाको शक्तिशाली कुर्सी ।
अघिपछि लाभालस्कर गाडी
विचमा मेरो राजकीय सवारी
सरकारी सेवा , सुविधासहित
विदेशमा भ्रमण र उपचार
न बाउ-बाजेको सम्पत्ति न आफनै पसिना
साच्चै, चिठ्ठा परेझै मेरो सपनाको त्यो शक्तिशाली कुर्सी ।
सम्भव छ, त्यो चाडै सम्भव छ
विकास र सम्वृद्धि भन्दै जनतालाई भ्रममा राख्न जान्नपर्छ
बुढाहरुले देश विगारे भनेर चिच्याउँदै
भित्रभित्रै तिनै नेताहरुलाई रिजाउन जान्न पर्छ
रातारात गठबन्धन भत्काउने र बनाउने खेलमा, सामेल हुन जान्नपर्छ ।
नयाँ पार्टी खोलुँ कि पुरानो
हतार छ मलाई जताबाट छिटो पुगिन्छ उतै छिर्नुछ
फास्ट-ट्याकबाट कूर्सी सुरक्षित गर्नु छ
सिद्धान्त र विचार भन्ने त पछिका कुरा हुन्
अहिलेलाई मात्र क्याबिनेटको नेता चुनिनु छ ।
कुर्सीमा त सम्मानै सम्मान हुन्छ
दोषी भएपनि, पछि निर्दोष साबित गरिन्छ
हत्यारा, भ्रष्टाचारी, बेविचारी , बेरोजगारी र राष्ट्रघातीहरुको जमात हुुन्छ
यत्ति धेरै चलखेल हुन्छ त्यहाँ जोडघटाउको तानातान हुन्छ
जुनसुकै बेला मन्त्री, प्रधानमन्त्री र राष्ट्रपतीको पनि अफर हुन्छ
त्यसैले त, वाउ ! कुर्सी अनि म ।