'अहिलेसम्म तीजलाई नेपाली महिलाले मात्र मनाउने पर्व मान्दै आएको थिएँ । बल्ल तत्त्वज्ञान भयो । म कुवाको भ्यागुतो रहेछु ।' २७ भदौको कान्तिपुरको अंकमा एक पाठकको पत्र पढेपछि केही लेख्नुपर्ने हुनगयो । त्यसमाथि 'राई' थर भएको पात्रले नै लेखेपछि अरू जरूरी भयो । नेपालमा हिन्दुकरण भयो र हिन्दुकरण भयो भनेर पश्चिमाहरूले आफ्नो स्वार्थपूर्ति गर्न अनावश्यक नारा उरालिरहेका बेला -१) यो कसरी करिब-करिब राईहरूको मात्रै परम्पराको रूपान्तरित चाड हो र (२) दशैं बहिष्कारको जवाफ तीज बहिष्कारले किन नदिने ? भन्ने यी दुइटा कुरा अगाडि राख्नु यस लेखको उद्देश्य हो ।
पहिलो
दर खानबाट तीज सुरू हुन्छ । दहीमा काँक्रोको टुक्रा मिसाएपछि जुन खानेकुरा बन्छ, त्यो दर हो । दरको खास अर्थ यही हो । जसरी महमा बनाएको तिलको धूलोमात्र हलुवा हो, मूल अरेबिक हो । काँक्रो -कुकुमिस स्याटिभस) लाई भाभिलोभले चीनको मानेका छन्, भारतको होइन (र नेपालको सबैभन्दा पुरानो उल्लेख सन् १३८१ को हो, अमरकोशलाई नेपालकै मान्ने हो भने आठौं शताब्दीसम्ममा पुग्छ) ।
दोस्रो
९९ प्रतिशत क्यालेन्डरमा एक सय एक संस्कृतबाजहरूले हरितालिका लेख्दै आएका छन् । तर यो हरि -विष्णु) को नाममा हुने चाड होइन, हर -शिव) को नाममा हुने हो, जसलाई किराँतेश्वर भनिन्छ । यसैले हरहर महादेव भनिन्छ, हरिहरि महादेव होइन । भारतरत्न प्राप्त पीबी काणेले समेत मूर्तिमा हरिताल दलेर मनाउने भएकाले हरितालिका भएको हुनुपर्छ भनेका छन् । तर हरिताल -आर्सेनिक कम्पाउन्ड) मन्द विष हो । देवताको मूर्तिमा कसैले विष दल्ने प्रसंगै हुँदैन । न बृहत् नेपाली कोशकारले भनेजस्तो हरितालबाट हडताल आउँछ । तालिका -वरिपरि ताली बजाउँदै घुमेर नाच्नु) बाटै आउँछ । यो पाखुरामा पाखुरा बाँधेर पंक्तिबद्ध भई पहाडी इलाकामा हुने नृत्यशैलीकै रूपान्तरण हो ।
तेस्रो
त्यसको पर्सिपल्ट बिहानबाट स्पष्ट रूपमा किराँत मोड देखापर्छ । जब व्रत बस्नेले कर्कलो गुवा खान्छन् । नभन्दै चाम्लिङ राई परम्परा भन्छ- देउता पारूहाङले पृथ्वीमा खडेरी निम्त्याउनु अघि कर्कलोमा शुक्रकीट छोडे । पार्वती -नायिमा) ले तिर्खाले आकुल भएर त्यो पिइन्, गर्भवती भइन् र मानवको उत्पत्ति भयो । कुलुङ राई परम्परा भन्दछ- पारूहाङले खडेरी ल्याउनुपूर्व कर्कलोमा शुक्रकीट छोडे । निनामरिम्दुले पिइन् र यसरी मानवको सृष्टि सुरू भयो । त्यो बेलाका परिकल्पनाको कर्कलो पहाडी वन कर्कलो
-क्यालोक्यासिया एफिनिस) हो, जबसम्म सुदूर पूर्वेसिया, मलेसिया विशेषबाट अहिलेको खान सजिलो हुने कर्कलो -क्यालोक्यासिया एस्कोलेन्टा) भित्रिएन । -म्लेच्छ शब्द केही मेचेहरूले लेखेजस्तो उनीहरूका निम्ति होइन, मलायाका निम्ति प्रयोग हुन्छ, जसरी यवन गि्रसको आयोनियनहरूका निम्ति र असुर शब्द एसेरियन अर्थात् वर्तमान सिरियनहरूका निम्ति) । नभन्दै गुरूङ परम्परामा शिव-पार्वतीलाई 'हिउँ केरी कर्कले' भन्छन् नै । हायुहरूलाई कुलपूजामा कर्कलो नै चाहिन्छ ।
चौथो
बिहानै तिनले ३ सय ६५ वटा दतिवन/अपामार्ग -एसिरान्थेस आस्पेरा) ले दाँत माझ्छन् । जिनस एसिरान्थेस अन्तर्गतकै 'एसिरान्थेस आल्वा' चीनमा गर्भाशयको संकुचन गराउनका निम्ति प्रयोग गरिन्छ । अपामार्ग भारतको उत्तर प्रदेशमा गर्भपात गराउन र रक्तस्राव रोक्नका निम्ति प्रयोग हुन्छ । यसैले अपामार्गको अर्थ हो नै 'जन्ममार्ग व्यवस्थित
गर्ने ।' यो दाँत मझाइले ठ्याक्कै मानव सृष्टिसँग सम्बन्ध राख्छ ।
पाँचौं
त्यसपछि तिनले अघ्र्यको पानी -बीज) बगाइसकेपछि, चढाइएको केरामाथि त्यस अघ्र्यलाई घोप्टयाउनुपर्छ -प्रक्रिया) । त्यसो गर्दा दुइटै घुँडा टेकेको -बज्रासन) हुनुपर्छ । यसले पटक-पटक भनिए जस्तो लिंग सम्प्रदाय -फालिक कल्ट) दक्षिण भारतबाट भित्रिएको होइन भनेर स्पष्ट पार्छ । र अतिथि सत्कार गर्दा हुने लिम्बुहरूको आसनसँग ठ्याम्मै मिल्छ, जुन जापानसम्म पुग्छ । तर यसको परम्परागत प्रजाति वनकेरा -म्युसा बाल्बेसियाना) हो, जसमा बीज स्पष्टै छुट्टन्िछ । जुन रामेछापका मगरहरूलाई कुलपूजामा चाहिन्छ । राई, लेप्चा, दनुवार, आठपहरिया, याख्खा, गुरूङ, सुनुवार, थामी सबैलाई विवाह या कुलपूजामा चाहिन्छ, मेचेहरूलाई 'अँठिया'का नाममा विवाहमा
झनै चाहिन्छ, फेरि पारूहाङ र नायिमाकै
कथामा पुग्नेगरी ।
छैटौं
जुन ऋषि पञ्चमीको पूजा हुन्छ, त्यसका दुई स्पष्ट आयाम छन् । आज ऋग्वेदका सात ऋषिको नाम लिइने गरे पनि पञ्चमी पारिएको छ । यो पञ्चमीमा प्याङमा चामल भरेर, सुपारी राखेर पूजा गर्नुपथ्र्याे राणाकाल र त्यसको केही वर्षपछिसम्म पनि । यो प्याङ बन्थ्यो, पाटनको प्याङ गाउँमा । प्याङ शब्द बन्दछ, पर्याङ नाउँको मालिंगो -ड्रेपानोस्टासियम हुकेरियानम) बाट, जुन राईहरूको शब्द हो । यसैबाट बनाइन्छ पेरूंगो, जुन प्वाल परेको हुन्छ । तर चोया बाँस -बाम्बुसा बाम्बोज) बाट जुन भाँडा बन्न थाल्यो, त्यसलाई पनि नाम दिइयो पर्याङ, जो पछि प्याङ बन्न पुग्यो -जापानमा प्याङलाई भनिने फुगरो धेरै मिल्छ पेरूंगोसँग) । यसैले बरू प्याङ गाउँको गहिरो अध्ययनले त्यसलाई राईगाउँ देखाउन
पनि सक्छ ।
सातौं
अर्काे आयाम हो, सुपारी । हिजो सुपारीका ठाउँमा ओखरपाङ्ग्रो -इन्टाडा फासेलोइडस) हुन्थ्यो भन्ने बलियो संकेत मिल्छ । ओखरपाङ्ग्रोका दुवै प्रमुख जात -फासेलोइडस र पर्साइथा) दुवै पूर्वी नेपालमा मात्र पाइन्छन् । जिरेल र अरू धेरैमा पारपाचुके गर्न ओखरपाङ्ग्रो फुटाल्नुपर्छको अर्थ हो, यो परस्पर सम्बन्धको प्रतीक हो । पूर्वी हिमाली ग्रामदेव पाङ हुन् नै । र नै पाङ्ग्रो भएको हो । मेवाहाङ राईको निम्ति त सांस्कृतिक हो नै, थुलुङ राईले देउस्थानको रूपमा यसको बोटलाई मान्छन्, दुमी राईले चिहानमा राख्छन्, गुरूङले पनि अन्तिम संस्कारमा फुटाल्छन्, लिम्बुले चिहानबाट सातो फर्किनबाट रोक्नलाई प्रयोग गर्छन् ।
एसिया माइनरबाट भाङको प्रवेश हुनुअघि सम्भवतः यसको ठूलो अर्थ थियो । किनभने यो हल्का लाग्ने विषालु महादेव बुटी पनि हो । पञ्चमीमा सम्बन्ध प्रतीक पाङ्ग्रोको प्रयोग आदियुगको बहुपति प्रथा -आजको अर्थमा हिमालयन पलियान्ड्री) को संकेत हो । र हिमरेखाको ठीक तलमात्रै यो चलन थियो भन्ने होइन, महाभारतको पाञ्चाल -द्रौपदीको देश) ठीक हाम्रो पश्चिमी तराईको सीमापारि पर्छ, जुन 'पलियान्ड्री'को अन्तिम अवशेष देखिने डोल्पाको करिब-करिब अक्षांशमै छ ।
आठौं
पञ्चमीका महिलाहरू छोइनसक्नुका हुन्छन् भन्ने भनाइ नै छ । त्यसको अर्थ हो, त्यो दिन अश्लील बोल्न पनि उनीहरूलाई छुट हुन्छ । र अश्लीलताको हद नेवारहरूको गथामुगमा देखिन्छ, शेर्पाहरूको दुम्जी चाडमा देखिन्छ, थकालीहरूको फालयात्रा/चौंरीयात्राका बेला देखिन्छ, गुरूङहरूको टोंटेका बेला देखिन्छ । र यी पाँचवटै प्रथा जेठदेखि भदौसम्म पर्छन् । स्रोत एउटै हो, हिमाली हो भन्ने स्पष्टै छ । ओखरपाङ्ग्रोको फूल वैशाख-जेठमै फुल्छ । पाँच पत्र नै हुन्छन्, फूलका । चाड पर्ने बेलामा फूल नहुने भएपछि फल प्रयोग गर्नैपर्यो
-र त्यसको लगभग १० महिनापछिको फागुन
कुनै बेला धेरैजसो नेपाली शिशुहरू जन्मिने
महिना पनि हो) ।
नवौं
नेवारहरू फुली लाउँदैनन् र तीज मान्दैनन् भनेजस्तो ब्राऽमण-क्षत्रीहरू ठान्छन् । फुली पक्कै लगाउँदैनन् । किनभने त्यो मुगल प्रभाव हो । तर ऋषि पञ्चमीलाई नेवारीमा कोखजा बिये भन्छन् । र त्यो दिन उनीहरूलाई बुँसाकी -क्यालोक्यासिया एफिनिसको गानो) चाहिन्छ र बिहामा पनि
-स्वर्गीय कान्छा मालाकार) । यसको अर्थ
कोखपूजा हो । र कोखपूजामाथि लिम्बुहरूको
ठेली पुस्तक नै छ ।
र लिम्बु कोखपूजा 'साम्माक चोमेन' तीन दिन तीन रातको हुन्छ, जुन ठ्याक्कै तीजको खास समयावधि हो ।
अन्त्यमा,
माथिका हरफहरू पढेपछि केहीले तीज त एलम्बरहरूले चलाएका रहेछन्, नत्र कसरी उपत्यकामा राई-लिम्बु परम्परा ? भन्न सक्नेछन्, जुन यथार्थ होइन । इन्द्रकमल फूल -गार्डेनिया जास्मिनइडस) लाई नेवारीमा येलामखु स्वाँ
भन्छन् । झट्ट सुन्दा देशेमरू झ्या भनेजस्तो 'पाटनमा नभएको फूल' भन्ने मोटो अर्थ लाग्न जान्छ । तर यो मखु शब्द कोपिलाबोधक संस्कृत मुकुलको रूपान्तरण हो । अर्थात् नेवारीमा येलाको अर्थ इन्द्र नै हो । त्यसैगरी काठमाडौंलाई भनिने यें पनि इन्द्रबोधक नै हो । यङ्गलमा परेको ग्लको अर्थ देउता हो भन्ने मेरी स्लसरको भनाइ मान्ने हो भने यङ्गलको अर्थ इन्द्रदेवता नै हुन्छ । यम्बुको अर्थ इन्द्रको खेत भन्ने नै मोटो अर्थ हुन्छ ।
इन्द्रजात्रा जुन दिन सकिन्छ, त्यसलाई यँयापुन्ही नै भनिन्छ, नेवारीमा । पाटनमा मत्स्य+इन्द्रनाथ र काठमाडौंमा सेतो+इन्द्रनाथ छन् पनि, नकि भक्तपुरमा । र नभन्दै चिनियाँहरूले नेपाललाई दिएको पुरानो नाम चिपिनको अर्थ इन्द्रकिल हो । इन्द्रकिलको अर्थ हो, कमल । उपत्यका दह थियो । र त्यहाँ कमल फुल्थ्यो भन्ने कथामा यो आधारित छ, जुन विष्णु -इन्द्र) को नाइटोबाट निस्किएको कथाचाहिँ सनातन हो । र यसै कमलको उपस्थितिलाई बौद्ध परम्पराले पछिबाट आफ्नो कथामा रूपान्तरण गरेको मात्र हो । तर बौद्ध कमल निम्फ्या लोटस होइन । कनिष्कले २१ सय वर्षअघि लाहोरमा गरेको प्रथम बौद्ध सम्मेलनले सद्धर्म पुण्डरिक सूत्रको निर्माण गरेपछि अपनाइएको पुण्डरिक/सेतो कमल -निम्पिmया आल्वा) हो, नकि पलेस्वाँ । हामीले प्रयोग गर्ने गरेको प्राचीन, अर्वाचीन शब्दहरू मूलमा चीनकै निम्ति हुन् पनि, नकि भारत वा अन्य कुनै देशका निम्ति । यसर्थ आफूभन्दा पुरानोले दिएको सम्बोधनको पनि सार त हुन्छ नै ।
इन्द्र छोट्टएिर यें कसरी बन्न सक्छ ? भन्ने जिज्ञासा पनि हुनसक्छ । मानदेवको बेला -पाँचौं शताब्दी) मा प्रयुक्त उत्पलिनी फूल -नीरकमल) सत्रौं शताब्दीमा आइपुग्दा छोट्टएिर उफो हुन पुगेको छ । १२ सय वर्षमा साढे तीन अक्षर खिइएका छन् । आज तुण्डी -वाण) खेलिने -खेल) ठाउँबाट टुँडिखेल भएको देखी त्रिरत्नख्योलबाट भएको -धुस्वाँ) सम्मको अर्थ भएको छ । तर पूर्वी ढोका रहेको ठाउँमा कुनै बेला शाश्वत बज्र बज्राचार्यले बनाएको द्रोणी -धारा) को द्रो बदलिएर टुँ भएको हो, खेलको अर्थ त चौर हो नै । नभन्दै अहिले चक्रपथ बाहिर रहेका बीस-पचीसवटा मल्लकालीन लाग्ने रित्ता ढुंगे ट्यांकीहरूको नेवारी नाम हो नै 'जेटंु', जो संस्कृत जलद्रोणी शब्द खिइएर बन्दछ । यसैले जनजिब्रोमै अक्षर खिइने क्रमले देखाउँछ, त्यो कति पुरानो भाषा हो । इन्द्रलाई यलेे -यरुइन्द्र, लेरुदेउता) हुँदै यें बन्न हजार वर्ष लाग्यो होला । तर त्यसको शुद्ध रूपको थालनी त पानी जहिलेदेखि बगेर गयो, उहिल्यैदेखि भयो । नबग्नु अघिकै जस्तो लाग्ने चिनियाँ नामले यही संकेत गर्छ ।
फेरि अन्त्यमा,
शीर्षक र पहिलो हरफमा तीज बहिष्कार ? भन्ने वाक्यांश परेको भए पनि रमाइलोका निम्ति लेखिएको हो । कोही साम्प्रदायिकहरूले देशका चालचलन, परम्परा बहिष्कार गरे भनेर त्यही सिको गर्ने होइन । हामीले तिनलाई होइन, ध्यानबहादुर राई र बलबहादुर राईहरू जस्तालाई सम्झेर भारतको दक्षिणसम्म फैलिएको यो विशुद्ध नेपाली चाड मनाउने हो, अरू धुमधामसँग र अरू गौरवका साथ । पाठक राईले हीनताबोध गर्नु पर्दैन, गौरव गरे हुन्छ ।