कमेन्ट गर्ने सबैजना संग कुरा अहिले एकछिनमा गर्छु। पहिला अर्को भाग है त!
अर्को भाग-
सुकिलो सेतो लबेदा र सुरुवाल अनि दायाँ पट्टि कन्चटनिर फाटेको भए पनि सफा ढाकाटोपी लगाएर नेपे बुढा काँधमा एउटा पँहेलो तर पुरानो देखिने झोला बोकेर जजमानी गर्न तल गाउँतिर ओरालो झर्दै थिए! उनको निधारमा मिहिनेतसाथ लाइएको स्पश्ट पँहेलो टिका देख्न सकिन्थ्यो र पँहेलो टिकाको तल सानो रातो टिका पनि थियो। उनको मुखबाट कुनै श्लोकको अशुद्ध हरफहरु निस्कँदै थिए-
“ ….दुर्गाक्षमा शिबरात्री स्वासोदा नमोस्तुते…”
बर्खा लागे देखि नै नेपे बुढालाई दुई कुराले सताएको थियो। एक त झरि परेर हो वा गाउँमा वैदिक कर्म कम भएर र चाडबाड त्यति नपरेर हो, गर्मि याम देखि नै उनको जजमानी पेशा स्वाटसुट्टै घटेको थियो। अर्को झरि पर्यो कि प्राय जसो उनको घुँडाले धर्म छाडिदिन्थ्यो र पाइला सार्नै नहुने बनाउँदथ्यो। तर अब भदौ लाग्न धेरै बाँकि थिएन र नागपन्चमि देखि चाडबाडको ओइरो लाग्ने सम्झेर बुढा अलिकता आशावादी थिए।
“ पोर त बिस रुप्पे दाममा पारेर मरे! चामलमा नि सपै पानी पोख्खेर बरबाद भा’ थो, एसपालि कति देलान कुन्नि?”
मनमनै बोल्दै नेपे बुढाले आजको सराद्देको संभावित उपलब्धिबारे बिचार गर्न थाले।
“माइलो अरपाट फर्क्या छ क्यार, अलि दख्खिना बढाउलान् कि त?”
बुढा फेरि आशावादी बने।
बुढा ओरालो झर्दै थिए। दुवैपट्टि मकैबारि थियो र दुबै कान्लाका डिलमा मकै संगै बर्खे बोडि लगाइएको थियो। बुढाले हरिया कलिला बोडिका त्यान्द्रा देखेर एकछिन अडिएर दुई त्यान्द्रा बोडि चुँडे र खान थाले।
“गज्जपको मिठो भइसकेछ!”
बोडि चपाउँदै बुढा फेरि ओरालो झर्न थाले।
बुढा फेरि अडिए र एउटा झारको त्यान्द्रो चुँडे। दाँतले त्यान्द्रोको टुक्रा बनाए र बायाँ काँधमा झोला भिर्दै दायाँ हातले दाँतमा अड्केको बोडि कोट्ट्याउँदै ‘फुउउ’ गर्दै थुक्न थाले।
बुढा चौतारीमा पुग्दा दाँत कोट्ट्याएर सकिसकेका थिए।
सकेसम्म छिटो पुग्न मन त थियो बुढालाई तर घुँडा दुख्छ कि भनेर एकछिन चौतारीमा बिश्राम गर्ने निधो गरे, र धुलो टक्टक्याउँदै थ्याच्च बसेर सुस्केरा हाले। सुस्केरा हाले लगत्तै भने-
“हरिशरणम!”
बिश्राम गर्दा गर्दै बुढा फेरि कुनै श्लोक गुनगुनाउन थाले-
“ काकोचेश्टा बको ध्यानम, स्वान निद्रा गृहत्याग!”
कुन्नि के सम्झेर बुढाले झोला खोले र भित्रबाट कर्मकान्डको पुस्तक, र भाँचिएर धागो बेरेको चश्मा निकाले। चश्मा लगाए पुस्तक हेर्दै नबुझिने स्वरमा लय मिलाएर एकछिन बर्बराउन थाले।
केहि मान्छे बोलेको जस्तो सुनेर बुढाले मुन्टो उठाए र नाकमै झर्न लागेको चश्माको माथिबाट पुलुक्क आवाजको दिशातिर हेरे।
“ बाजे नमस्कार!”
गाले र नेप्चेले फर्सिले भरिएको डोको चौतारीमा बिसाउँदै एकैपटक बुढालाई नमस्ते गरे।
बुढा बोलेनन् र अपरिचीतलाई जसरि गाले र नेप्चेलाई नियालेर हेर्न थाले। फेरि तुरन्तै चिनेछन कि के हो मुसुक्क हाँसेर नमस्ते फर्काएर भने-
“ कता लायौ ठिटा हो? फर्सि बेच्न हिँडेऊ?”
“ हो बाजे, खोलो नि घटो होला, फर्सि टिप्या ३ दिन भइसको तेसइ कुइएर जाला जस्तो भो, पारी बजारमा बेच्न जान ला!”
नेप्चेले गह्रुङ्गो फर्सिको भारिले निम्त्याएको निधारको पसिना मैलो फाटेको ढाकाटोपीले पुछ्दै भन्यो र अलि सजिलोसंग बस्यो।
“कति पारेऊ यो बर्ख फर्सि?”
बुढाले उत्सुकता देखाए!
“खै हाम्राँ त चिचिलाटै कुइएर गो धेरजसो, नेउचेकाँ चाइँ पर्या हो पर्या कुरो गर्दा!”
गालेले पुलुक्क नेप्चेलाई हेर्दै फेरि बुढातिर फर्केर जवाफ दियो।
“ बाजे कता लाउन लाउनुभाहो कुन्नि?”
नेप्चेले बुढालाई हेर्दै सोध्यो।
बुढाले दाहिले खुट्टा तन्काएर एक पटक सिधा बनाए, र अल्छि मानेको जस्तो गरेर भने-
“ तल गोताएँका सराद्दे छ भनेर बोला छन्, आफ्नो भ्याइनभ्याइ छ। काइँलो पुरेतलाई भन् भन्दा नि ‘हइन गुरु हउरै आम्नु पर्च’ भनेर भने करै गरेर, तेइ भ’र जान ला!”
गालेले सहमतीमा मुन्टो हल्लाएको जस्तो गरेर आफ्नो सोझो बानिको परिचय दियो। वास्तवमा उसले बुढाले भनेको कुरा यति मात्र बुझ्यो कि बुढा गोतामेकहाँ श्राद्धको लागि जाँदैछन्।
“अनि बेल्का फर्कँदा उकालो उक्लिन सउनुहुन्छ त बाजे? फेरि सिदा दख्खिनाको पोको नि हुन्च बेल्का?”
नेप्चेले सरसर्ति बुढालाई टाउको देखि खुट्टा सम्म हेर्दै प्रश्न गर्यो।
बुढाले नेप्चेलाई पुलुक्क हेरे र मुहारमा घमन्ड फिँजाउँदै भन्न थाले-
“ हेर् नेप्चे, सिदा दख्खिना लिन त छाडिसकियो कुरो अर्ने हो भन्देखुन। अब केलाई चाइयो र सिदा दख्खिना तइँ भन् त?”
गालेले फेरि उसको दिमागमा कुरा घुसेको जसरि मुन्टो हल्लायो। नेप्चेले पनि बुढा संग सहमतिमा हल्का मुन्टो हल्लाउँदै भन्यो-
“ तेइ त बाजे, बाजे र बजै दुइजानालाई तेत्रो सम्पत्ति छ जाबो सिदा किन चाइनु!”
बुढाको मुहारमा गर्वको हल्का लालि छायो।
“कुरा सुन, नेप्चे गाले, हेरि यो जजमानि त म नभइ नहुने भ’र गर्या मात्रै हो, अब पइले देखिका चिनेजानेका मुन्छे, ‘लौ गुरु हउर नै आम्नु पर्च’ भनेसि दया नि त गर्नु परो, कि कसो तइँ भन् त?”
गालेले यसपटक पनि बुढाको कुरा बुझेको सहमतीमा मुन्टो हल्लायो।
नेप्चे उत्सुकताका साथ बुढालाई हेर्न थाल्यो।
बुढा ससर्किएर बोले-
“ दया हो पृथ्वीको अति चहकिलो पारसमणी…भनेर भन्या छन लेउनाथ पउडेलले। दया गरनइ परो नि हो कि हैन तइँ भन् त?”
“ हो बाजे हो गर्न पर्छ दयामया त। तो सिलोक त हामि के बुझ्थेम र तइ नि दया गर्न पर्छ भन्ने लाउछ बाजे हाम्लाई नि!”
नेप्चेले गालेतिर सहमति खोज्दै हेर्यो।
गालेले गम्भिर मुद्रा बनाएर सहमतिमा फेरि टाउको हल्लायो।
बुढा आफ्नो कुरा सुन्ने मान्छे पाएर जोशिए।
“त्रेतायुगमा सिरिकिस्नले पनि दया गरेर सारथि बनेका थिए! तेसइ सारथि भा हैनन भगवान किस्न!”
बुढा सुरु भएको देखेर नेप्चेले पुलुक्क गालेलाई हेर्यो। गाले वाल्ल पर्यो।
बुढा फेरि चश्मा तह लाउँदै बोल्न मुख बाएको देखेर नेप्चेले हतार हतार भन्यो-
“लौ बाजे, एकछिन थकइ मारम भनेर बस्या हुम के रे हामेरु, अब लाग्नु परो, नत्र रात पर्दा नि फर्सि डोकोको डोकोमै हुन्च, क्यार्नु!”
“लौ त नि, अब के भन्नु मइँले जाओ बेचेर आओ!”
बुढाले लेग्रो तान्दै जवाफ दिए।
नेप्चे तुरन्तै उठ्यो, डोको बोक्न लाग्यो र गालेलाई डोको धकेल्दिने इशारा गर्यो। गालेले डोको धकेल्दियो। नेप्चे बुढालाई नमस्ते भनेर ओरालो तिर लाग्यो। गालेले सकिनसकि आफ्नो डोको उचाल्यो र बुढालाई दुइ हात जोडेर नमस्ते गर्यो र नेप्चेको पछि पछि ओरालो झर्यो।
बुढा एक्लै परे। कर्मकान्डको पुस्तक र चश्मा झोलाभित्र हुले। एकछिन केहि सोचे र पेट समाते। बुढालाई पेट काटेको अनुभव भयो। यता उता हेरे, र पिपलबोट पछाडि कान्ला तिरको झाडिमा बुढाको आँखा अडियो। केहि सोचेर बुढाले फेरि यता उता हेरे र सुरुवाल फुकाले। भित्र धर्का धर्का भएको लामो कट्टु लाएका थिए, लगभग घुँडा सम्म आउने। बुढाले सुरुवाल पट्टयाएर झोला संगै पिपलको बोटको फेदमा राखे र पेट समाउँदै पछाडि झाडिभित्र हराए!
-------
कुखुरा नकराइदिए हुन्थ्यो भन्दैथियो कुम्ले, तर कुखुरा कराएको करायै थियो। धन्न बाटोमा कोहि हिँडेका थिएनन्! कुम्लेले लाएको कमिज उलाई टाइट लाग्न थाल्यो। भुँडितिर कमिज भित्र भाले अटाउँदैनथ्यो, र काखिमा च्याप्न गाह्रो भैराखेको थियो।
कुम्लेले ककुखुराको मुख काखिले च्याप्प चाप्थ्यो र एकछिन हिँड्ना साथ भालेको मुख फुत्किन्थ्यो र भाले कराउँदथ्यो। एक पटक त भालेको चुच्चोले कुम्लेको काखि घोच्दा ऊ भुतुक्कै भएको थियो। एक त भाले कराएपछि कुम्ले कसैले सुनेको त छैन भन्दै यताउता हेर्न बाध्य हुन्थ्यो, अर्कोतिर खैनिको तलतलले, च्यापेको भाले फालेर भए पनि एक चिम्टि खैनि खाउँ खाउँ लाग्दै थियो उसलाई!
ऊ छिटो छिटो हिँड्दै थियो, र जति सक्दो चाँडो घर पुग्न चाहन्थ्यो। बाटोमा डाँडामा तेर्सो परेर गएको थियो र घुमाउरो थियो। एउटा मोडमा पुगेपछि कुम्लेले मान्छेहरु बोलेको सुन्यो र सतर्क भयो।
बिस्तारै मोडमा पुग्यो र लुकेर हेर्यो।
पर चौतारीमा गाले र नेप्चे भारि बिसाएर बसिराखेका थिए। नेपे बुढा दुईजना संग केहि बोल्दै थिए। नेपे बुढा चौतारीमा बोलेको पनि कुम्लेलाई पोहोर तल्लो गाउँमा पुराण सुन्या जस्तो लाग्दै थियो।
कुम्लेलाई फसाद पर्यो। बाटो चौतारी हुँदै नै जान्थ्यो र चौतारीमा नेपे बुढा थिए। कुम्लेले भाले चोरेको नेपे बुढाले थाहा पाउनु भनेको बिस्तारै सम्पूर्ण गाउँलेले थाहा पाउनु थियो। फेरि कोहि यहि बाटो हिँडिदिन पनि सक्छन्।
“ बुढालाई कहिँ नपाएर चौतारीमा गफ दिनु पर्या असत्ति पुरेत्!”
कुम्लेले मनमनै नेपे बुढालाई गालि गर्यो। भाले च्यापि च्यापि टुक्रुक्क बस्यो। खैनिको तलतल नाइटै देखि उमडिएर लाग्दै थियो उसलाई। एक हातले भाले च्यापेर अर्को हातले भालेको मुख समात्दै कुम्ले कुरेर बस्न थाल्यो।
चौतारीबाट गुनगुनको आवाज आउन बन्द भयो।
कुम्लेले उभिएर आफ्नो जिउ मोडमा छेक्दै टाउको तन्काएर हेर्यो।
गाले र नेप्चे डोको बोकेर ओरालो झर्दै थिए।
कुम्लेको सास आयो। केहि बेर त्यत्तिकै तन्केर हेरिरह्यो। गाले र नेप्चे निकै तल पुगे।
कुम्लेले नेपे बुढाले सुरुवाल फुकाल्न लागेको देख्यो।
“बेजेति बुडा, अब चौतारीमै टुक्रुक्क बस्ने होलान्!”
कुम्लेलाई नेपे बुढाले सुरुवाल खोलेकोमा रिस उठ्यो। उसको बिचारमा बुढाले चौतारीलाई नै शौचालय बनाउने छन् र अझ केहि बेर त्यहिँ बिताउने छन्। जुन उसको लागि फाइदाको कुरा थिएन। यहि बिच कोहि आउन सक्थ्यो र उसले गरेको कान्ड थाहा पाउन सक्थ्यो। कुम्ले छट्पटाए जस्तो देखियो।
अचानक कुम्लेको मुहारमा खुसिका रेखाहरु देखिन थाले।
उसले नेपे बुढाले सुरुवाल र झोला एकातिर राखेर झाडितिर लागेको देख्यो।
“ एइ बेला फुत्केर चौतारी काट्न पर्छ, अनि त घर पुइहालियो नि!”
बुढा झाडिमा हराउनासाथ मनमनै बोल्दै कुम्ले भाले काखिमा च्यापेर चौतारीतिर हुत्तियो।
कुम्ले चौतारि पुग्यो। बुढा झाडिभित्र कतै लुकेका थिए।
कुम्लेलाइ जति सक्दो चाँडो चौतारिबाट टाढा पुग्न मन लाग्यो। फटाफट हिँड्न थाल्यो।
अचानक भालेको मुख कुम्लेको काखिबाट फुत्कियो।
“क् क् क्वाँक्ss!”
भाले कराइदियो।
कुम्लेले हत्त न पत्त भालेको मुख समात्यो र तत्कालै झाडि पछाडिबाट नेपे बुढाको स्वर सुन्यो।
“ असत्ति गाम्लेहरु पालेसि त घरैमा राख्नु नि तिनका मासुलाई, मजाले बाइर बस्न समेत दिँदैनन्!”
कुम्ले एकछिन जड भएर उभिइराख्यो। दौडन मन भैरहेको थियो तर भालेको आवाज सुनेका नेपे बुढा दौडिएको आवाजमा झन सतर्क भएर उठ्न बेर थिएन र उठेमा कुम्लेको बिजोग निश्चित थियो।
निकै बेर सम्म बुढा निस्केनन्। कुम्ले ढुक्क भयो र जान तयार देखियो।
अचानक केहि सोच्यो र चौतारी तिरै आयो। उसलाई भालेको मुख बन्द गर्ने उपाय सुझ्यो।
बिस्तारै बायाँ काखिमा भाले च्यापेर दायाँ हातले भालेको मुख समात्दै नेपे बुढाले फुकालेर राखेको सुरुवाल नजिक आयो र बेआवाज कुखुरा च्यापेको काखिपट्टि बाट नै सुरुवाल पनि च्याप्यो र लतार्दै सतर्क भएर हिँड्न थाल्यो। बेला बेलामा झाडितिर हेर्दै बिस्तारै कुम्ले तल्लो मोडमा पुग्यो र छेकियो।
भालेको मुख सुरुवालले बाँधेपछि कुम्ले ढुक्क देखिन्थ्यो!!
Last edited: 24-Jun-08 04:29 PM