लौ गाम्लेहरू, आज मेरो कथाको छैठौं भाग लेखिसकाएँ। यसभन्दा अघिका पाँच भाग पुराना चौतारीहरूमा पढि नै सक्नुभएको होला।
तितौराको तृष्णा म बिस्तारै बिस्तारै काठ्माडौंको जीवनशैलीमा भिज्न थालेको थिएँ। बिहान सबेरैदेखि सुनिने मानिसहरूको आवाज, चराहरूको चिर्बिर, शंखघण्टाको ध्वनी अनि रेडियोमा बज्ने भजन अब मेरालागि स्वाभाविक हुन थालेको थियो।
हाम्रो घरभन्दा केही पर ढुंगेधारा नजिकैको पुरानो पाटीमा थुप्रै लोभलाग्दा तितौरा, चकलेट, आदि बेचिन्थे। ती पाउँहरू हेर्दा मुखमा पानी नआउने सायद कोही थिएन होला। हामी घरमा जम्मा पारेका सिक्काहरू लिएर पाउँ किन्न जान्थ्यौं। बुबा आमाले ‘तितौरा खानुहुन्न, पेट दुख्छ’ भनी गाली गर्नुहुन्थ्यो, तर हामी लुकीछिपी भए पनि तितौरा किनेर खान्थ्यौं। मलाई सुख्खा, नुनिलो भन्दा गुलियो र प्लाष्टिक भित्रको रसदार पाउँ मन पर्थ्यो, तर आफूसँग धेरैजसो पर्याप्त पैसो हुँदैनथ्यो, त्यसैले पाँच पैसा जाने नूनिलो तितौरा खाएरै चित्त बुझाउँथें।
मैले एकपल्ट अलि बढि पैसा जम्मा गरेर आफूलाइ मनपर्ने तितौरा किन्ने विचार गरें, त्यसकोलागि केही दिनसम्म तितौरा खाइन, पैसा एक एक गर्दै जम्मा हुँदै गयो। त्यो पैसा लिएर म गएँ तितौरा किन्न। मनमनै खुशी हुँदै तितौरा छान्न थालें, यौटा प्लाष्टिकमा रहेको कालो रंगको तितौरामा मेरो आँखा गयो, झोल पनि थियो त्यसमा, मेरो मुखमा पानी आयो। हतार हतार उक्त तितौरा किनेर खानथालें। साह्रै पिरो रहेछ, चटपट पनि उस्तै, मेरो निधारमा पसिना आउन थाल्यो।
बल्ल बल्ल तितौरा खान सक्याएर म घर पुगें, झिसमिसे साँझ परिसकेको थियो। आमाले सोध्नुभयो, ‘चित्रे, यति ढिलोसम्म कहाँ गएको थियौ?’
मैले जवाफ दिएँ, ‘ऊ त्यहीं बाहिर खेल्दै थिएँ।‘
आमाले मेरो अनुहारमा केही अनौठो कुरा देख्नुभएछ, ‘चित्रे, तिम्रो ओंठ कसरी सुन्निएको?’ उहाँले आत्तिंदै सोध्नुभयो।
मलाई तितौरा खाँदै गर्दा माथिल्लो ओंठ चिलाएको जस्तो त लागेको थियो, तर यसरी सुन्निएकै थियो भन्ने कुरा चैं बल्ल थाहा पाएँ। मैले तितौराको ‘त’ पनि उच्चारण गर्ने आँट गरिन, किनभने मलाइ थाहा थियो कि तितौरा खाएको कुरा आमाले थाहा पाउनु भयो भने मैले गाली खानु पर्छ भन्ने। त्यसैले मैले हत्त न पत्त भनें, ‘ऐय्या! मेरो ओंठमा किराले टोक्यो जस्तो छ!’
ऐनामा हेर्दा त मेरो ओंठ हनुमानको जस्तै मोटो देखिएको थियो। आमाले शंका गर्नुभयो, ‘ बाहिर केही किनेर खायौ कि?’
मैले हतारिंदै भनें,’ हैन, केही पनि किनेर खाएको छैन, मेरो ओंठमा किराले नै टोकेको हो।‘
तर म आफैंलाइ समेत यकिन थिएन, मेरो ओंठमा किराले टोकेको कि त्यो कालो तितौराले टोकेको भनेर।
*****************************************************************
मेरी कान्छी दिदीले स्कूलमा सिकेको अंग्रेजी मलाई सिकाउँदै थिइन्, ‘थाहा छ चित्रे, कसैलाइ जानेर या नजानेर चोट पुग्यो भने ‘सोरी’(sorry) भन्नुपर्छ।‘
मैले टाउको हल्लाएँ, अनि यसको प्रयोग कतै गर्नुपर्छ भन्ने निधो गरें।
मनिषको घर मेरो घर नजिकै थियो, हामी सँगै खेल्थ्यौं र कहिलेकाहीं सँगै तितौरा पनि किनेर खाने गर्थ्यौं। एकदिन हामी चानचुन पैसा लिएर सँगै त्यही पाटीमा तितौरा किन्दै थियौं, मैले आफ्नो पाइला सार्दा गल्तिले उसको खुट्टामा टेक्न पुगेछु। मनिष, ‘अय्याऽऽ‘ भनी करायो।
मैले दिदीले सिकाएको शब्द सम्झने कोशिश गरें, तर तत्कालै सम्झन सकिनँ, बल्ल एकछिन घोरिए पछि फूर्तिसाथ ,‘चोरी!’ भनें।
मैले त सोचेको थिएँ कि मनिष खुशी हुन्छ, तर मेरो सोचाइ विपरीत ऊ जंगियो, ‘के रे? चोर रे? मलाई चोर भनिस् तैंले! मैले के चोरें भन्?’
म छक्क परें। भनें, ‘मैले तिम्रो खुट्टामा टेकेको हुनाले पो ‘चोरी’ भनेको त।‘
मनिष फेरी पनि अकमक्क पर्यो, तर अरू केही बोलेन।
मैले मनमनै सोचें,’ यसलाई त मलाइ भन्दा पनि कम अंग्रेजी आउने रैछ!’
*****************************************************************
घरमा फलफूल खूब खाइन्थ्यो, केरा, सुन्तला, स्याउ, अनि मौसम अनुसार मेवा, आँप, उखु आदि। एक शनिवारको दिन बुबाले उखु ताछेर, काट्दै सबैलाई दिंदै हुनुहुन्थ्यो। मलाई गुलियो साह्रै मन पर्थ्यो। ‘जहाँ गुलियो त्यहीं चित्रे भुलियो’ भन्ने भनाई ममाथि ठ्याक्कै मिल्थ्यो। रसिलो उखुको टुक्रा दाँतले मजाले चपाएपछि निस्किने गुलियो झोल पिउँदै म रमाईरहेको थिएँ। बुबाले सबैलाई उत्तिकै टुक्राको भाग लगाएर दिनुभयो। मैले चाँडै खाई सिद्ध्याएँ, दिदीहरूले पनि खाए। एउटा भाग आमाको लागि थियो, तर उहाँ लुगा धुँदै हुनुहुन्थ्यो, माथि कौसीमा।
बुबाले मलाई भन्नुभयो, ‘चित्रे, जाउ यो भाग मम्मीलाई लगेर देऊ।‘
म उखुको टुक्राले भरिएको बटुको लिएर कौसीतिर उक्लिएँ। भित्रैबाट म कराएँ, ‘मम्मी, तपाईको लागि उखु ल्याएको छु।‘
लुगा धुँदै गर्नुभएको आमाले भन्नुभयो, ‘त्यहीं राख, यति धोई सिद्ध्याएर खान्छु।‘
मैले ‘हुन्छ’ भनें तर एक टुक्रा उखु खाउँ खाउँ लाग्यो र एक टुक्रा मुखमा राखेर चपाएँ। रसिलो उखु साह्रै मीठो लाग्यो।
त्यो सकिएपछि अर्को पनि खाउँ खाउँ लाग्यो, फेरी एक टुक्रा लिएर चपाएँ।
एक एक गर्दै उखु त आधा बाँकि भइसकेछ। म झसंग भएँ र आमालाइ बोलाएँ, ‘मम्मी, उखु खानुस् न।‘
‘ल हेर, यो त अझै त्यहीं रहेछ, त्यहीं राखेर जाउ न, म खाइहाल्छु नि’, आमाले भन्नुभयो।
अब म चूप लागें, तर अर्को एक टुक्रा पनि खाउँ खाउँ लाग्यो, र चपाएँ।
यस्तो गर्दा गर्दै त अब बटुकोमा तीन टुक्रा बाँकि भइसकेछ। म वाल्ल परें। तर जाबो तीन टुक्रा पनि के आमालाई दिनु भनेर सबै खाइदिएँ र बिस्तारै तल ओर्लिएँ।
लुगा धुन सकिएपछि आमा तल ओर्लिनु भयो। बुबाले सोध्नुभयो, ‘ उखु कस्तो थियो?’
‘खै मैले त खाएकै छैन’, आमाले उत्तर दिनुभयो।
‘अनि चित्रेले ल्याएर दिएन?’, बुबाले सोध्नुभयो।
‘ल्याएको त थियो, खै कता राखेछ मैले त देखिनँ।‘ आमाले भन्नुभयो।
‘चित्रे, तिमीले मम्मीलाई उखु दिन गएको होइन?’, बुबाले मलाई सोध्नुभयो।
मैले अन्कनाउँदै उत्तर दिएँ, ‘दिन लगेको त हो, तर मम्मी खान आउनै भएन, त्यसैले मैले नै खाएर सकाएँ।‘
आमा, बुबा र दिदीहरू हाँस्न थाल्नुभयो। म पनि ङिच्च दाँत देखाउँदै तल्तिर भागें।