जदौ सप्पै गाम्ले'रुलाइ ! महोत्सव त गज्जब गैरा'रैछ क्यारे । आफु अलि अलि ब्यस्त भएर ट्याम्मा आउन सकिएन्, माफि चाहन्छु । लौ एउटा टुक्रा म पनि ठेल्दिन्छु ........
'बाबा मेरो पुरानो साइकल भाँचियो, मलाई नयाँ साइकल किनिदिनुस् न, राम्रो, रातो कलरको बाबुदादाको जस्तै' अफिसबाट घर आइपुग्ने बित्तीकै मेरो छोरा मेरो काखमा आएर आफ्नो गन्थन गर्न लाग्यो ।
'हुन्छ बाबु यसपाली दसैंको तलब आउने बित्तिकै तिमीलाइ नयाँ साइकल अनि राम्रो राम्रो लुगाहरु किनिदिन्छु' । थाहा छैन त्यो चार बर्षको बच्चाले मेरो सबै कुरा बुझ्यो कि बुझेन तर चाँडै नयाँ साइकल पाउने आसामा मेरो काखबाट उठेर उफ्रीन थाल्यो 'नयाँ साइकल कि.....न्ने, नयाँ साइकल कि.......न्ने, बाबु दादाको जस्तै रातो कलरको' ।
आज हाकिमसाबको राती डिनरमा जानु पर्ने भएको हुनाले घर चाँडै आइयो, नत्र कहिले काँही त रातिको ११-१२ पनि बज्छ, अफिसबाट फर्किन । हुन त आज पनि आठ बजे डिनरमा गए पछि फर्किदा १२- १ त बज्छ नै होला ।
'बाबु, आमा खै, एक गिलास चिया खान मन लागेको थियो' भुइँमा आफ्ना खेलौनाहरुसँग खेल्दै गरेको छोरालाइ सोधे ।
'आमा त हाकिम्नी साबसँग थानकोट जानुभा'छ, मैया दिदिको घरमा' छोराले मतिर नहेरी नहेरी उत्तर दियो ।
पाँच बजिसकेछ, आठ बजेको पार्टी भनेपछि सवा सात-साडे सात बजेतिर त निस्किनुपर्छ तर मैले सात बजे देखि नै गाडी त तयार गरेर राख्नुपर्छ, के थाहा हाकिम साब अरु कतै पनि जानुहुन्छ कि ।
चिया बनाउन स्टोभमा पानी बसाल्दै छोरालाइ सोधे ' बाबु खाजा खायो तिमीले ?'
'अँ, आमाले चिउरा र दालमोठ दिएर जानुभएको थियो, तेइ खाए । चाँडै आउँछु भन्नु भएको थियो, अहिलेसम्म आउनुभा' छैन ।' छोराले एकै सासमा मेरो प्रश्नको उत्तर दियो ।
दस बर्ष पहिला हाम्रो गाँउमा पहिरो गएर सबै ध्वस्त भए पनि गाउबाट काठमाडौं आउँदा धेरै सपनहरु थिए मन भरि । समुद्र नै सुकाउँला र पहाड नै फोडुँला जस्तो जोश थियो । केही दिन्मै थाहा भयो, निस्ठुरी रहेछ यो शहर, यहाँका मान्छेहरु पनि यन्त्र-मानव रहेछन् । अह्ँ, कतै काम पायिन मैले धेरै खोजे, जुत्ताका पैताला नै च्यातीने गरी । काम पाए पनि नपाए पनि पापी पेटले बुझ्दैन रहेछ, भोक त लाग्दो नै रहेछ । भारि बोक्न थाले जीवन निर्वाह गर्न । भरिया नै बन्नु पर्ने मान्छे त होइन म तर परिस्थितीले जे पनि गराउँदो रहेछ ।
'बाबा...... बाबा पानी उम्लिसक्यो' छोराले मेरो ध्यान भङ्ग गरायो । म त अतितमा पो पुगेछु ।
चिया पत्ती र चिनी हाले उम्लिरहेको पानीमा । चिया पनि तयार भयो । 'बाबु चिया र पाउरोटी खाने हो ?' छोराले खान्छु भनेर टाउकोले नै इसारा गर्यो ।
बिचरा मेरो छोरा, चाहेर पनि हामी राम्ररी हेरबिचार गर्न सक्दैनौं, आफ्नै बाध्यताहरु छन ।, चार बर्षको बच्चा, पोशिलो तागतिलो खुराक खानुपर्ने बेलामा कालो चिया र पाउरोटी अनि दाल मोठ्-चिउरा खानु परिरहेकोछ । हाम्रो पनि मन त हुन्छ छोरालाइ पोशिलो कुरा खान दिउँ, राम्रो लाउन दिउँ, स्याहार्, सम्हार गरौँ तर्....... तर के गर्ने, एउटा ड्राइभरको तलबले के के कुरा मात्रै गर्ने, तै घर भाडा तिर्नु पर्दैन, हाकिम साबले यो कटेरोमा बस्न दिनुभएको छ ।
यसपाली देखि त छोरालाइ स्कुल पनि हाल्नुपर्छ, महङ्गी यस्तै हो एक लिटर मट्टितेल को मात्रै ५० रुपैयाँ, चामल, दाल्, आलु प्याज, मरमसला, नुन तेल्----------- खै कसरी चलाऊने होला । केही बर्ष पहिलासम्म त चलेकै थियो व्यबहार, महङ्गी यस्तो थिएन्, जहान पनि दुई जना मात्रै ।
भरियाको काम गर्दा गर्दै हाकिमसाबसँग चिनजान भयो, उहाँको घर बनाउँदा समान बोक्ने क्रममा । हाकिमसाबको मन पग्लियो क्यारे मेरो ब्यथा सुनेर्, आफ्नै अफिसमा पिउनको जागीर मिलाइदिनुभयो । बस्ने ब्यबस्था पनि आफ्नै कटेरोमा मिलाइदिनुभयो । बिहान बेलुका हाकिमसाबको घरको काम गर्नु पर्ने, दिउँसो अफिसको । यसै क्रममा उनिसँग पनि भेट भयो, दुबैको ब्यथा उस्तै, मन मिल्यो बिहे पनि गरियो । बस्ने बास छँदैथियो, दुई जनाको जीवन निर्वाह गर्न सक्ने आम्दानी पनि छँदै थियो । केही समय पछि गाडी चलाऊन पनि सिकें, हाकिमसाबले आफ्नै ड्राइभरमा जागिर मिलाइदिनु भयो ।
'बाबा म खेल्न जान्छु बाहिर्, एकै छिन पछि आउँछु है' भन्दै छोरो बाहिर निस्किँदा पो अतितबाट फेरी बर्तमनमा आए । त्यो सानो बच्चो कता जान लागेको होला खेल्न, तर के गर्ने एक दिन भए पो हो, यसरी नै धुलो-माटो मैं हुर्केको त हो, म हाकिमसाबको काममा ब्यस्त, बुढी हकिम्नी साबको काममा ब्यस्त । खै घर-भाडा नतिर्नुको मोल बढी नै त तिरिराछैनौं ? तर होइन हाकिमसाबको धेरै ठुलो गुण छ म माथि, हाकिमसाब नहुनुभएको भए आज पनि म कुनै हार्डवेर पसलको बाहिर भारि कुरेर बसिराखेको हुन्थे ।
ओहो! सात बजिसकेछ्, अब त निस्किनु पर्यो, गाडी सफा गर्नु पर्यो, हाकिमसाब डिनर पार्टीमा जाने बेला हुन लाग्यो । बुढी कहिले आउने हो खै, छोरो पनि कता गयो खेल्छु भनेर तर के गर्ने हामी तल्लो तहको कर्मचारी त मेसिन न हौँ, हाकिमले बस् भने बस्नु पर्ने, उठ भने उठ्नौ पर्ने, आइज भने आउनु पर्ने, जा भने जानु पर्ने । भोक पनि लागिरा'छ, खै के खाने होला ? हाकिमहरुको लागि पार्टी भए पनि हामीहरु त भित्र छिर्न पाउने होइन, बाहिर गाडीमै कुरेर बस्नु पर्ने न हो ।
'हर्क बहादुर्, गाडी सफा गरिस्, लौ हिँड जाँउ' हाकिमसाब को आवाज आयो, भित्रबाट ।
'हजुर गाडी सफा भइसक्यो हाकिम साब्'
'अनी आजकल के छ नि तेरो हालखबर हर्कबहादुर्, तेरो छोरो कति बर्षको भयो रे साँच्ची ? अब त स्कुल हाल्ने बेला पनि भयो होला हैन ? ' ब्यक्तिगत कुरा त्यती नगर्ने हाकिमसाबको आवाज सुनेर एकाग्र भएर गाडी चलाइरहेको ध्यान भङ्ग भयो ।
'ह्जुर यो असोजमा चार बर्ष पुरा हुन्छ, अब यो बर्ष देखि हाल्नुपर्छ स्कुल' सँक्षिप्त उत्तर दिए ।
'थाहा पाइस् हामीहरु त अब सबैजना अमेरिका जाँदैछौ, भर्खरै ठुल्बाबुले फोन गरेको थियो । अमेरिकामा बस्ने कागज पाएछ । फेरी यतातिर अफिसतिरको झमेला पनि तलाइ थाहै होला, प्रतिगमनको मतियार्, मन्डले, सन्डले के के भनेर बस्नै दे'को होइन । कारबाही गर्ने भन्ने लिस्टमा पनि नाम छ रे मेरो । अर्को हफ्ता नै राजिनामा दिदैंछु । घर पनि बेच्ने कुरा चल्दैछ एक दुई दिनमा फाईनल हुन्छ होला ।' हाकिमसाबले एकै सासमा सबै कुरा बताए ।
'अब हेर तैले यतीका बर्षसम्म मसँग काम गरिस् तर के गर्ने आस्थाइ जागिर मैले छोडेपछि तैले पनि निस्किनुपर्ने हुन्छ, फेरी अहिले ब्यबस्था बद्लिसकेको छ, हाम्रो केही चल्दैन । फेरी हाम्रो अनुकुल ब्यबस्था आयो भने सँगै काम गरौँला ।' हाकिम साब बोल्दै गए ।
सबै कुरा नबुझे पनि यती कुरा चाहि थाहा भयो अब मेरो जागिर गयो ।
' हेर बाबु अन्यथा नलिएस् मेरोलागि त तँ छोरा जस्तै होस् तर के गर्ने अहिले म तेरोलागि केइ गर्न सक्दिन । अँ बरु अर्को हफ्तादेखि अरु नै ठाउँमा बस्ने ब्यबस्था मिलाउनु पर्छ तैले, मलाई थाहा छ, अबस्य पनि तलाइ गार्हो हुनेछ तर अरु केही उपाए पनि छैन्, घर किन्ने नयाँ मान्छेले सबै खाली गराइदिनु भनेको छ ।' हाकिमसाबले हातले नाक माथिको चस्मा मिलाउँदै भने ।
हाकिमसाबको पार्टी भएको होटल पनि आइसकेछ । हाकिमसाब गाडीको ढोका आँफै खोलेर होटलको प्रबेशद्वारतिर बढें । मैले गाडी पार्किङ गर्ने ठाँउतिर मोडेँ ।