पर्दा बनेको पर्खाल
म ओछ्यानमै थिएँ। घाम अघिनै उकालो लागिसकेको हुनु पर्छ। झ्यालबाट पर्दालाई जिस्काउँदै छिरेका किरणहरुमा बरालिंदा धुलोका ती कणहरुलाई नियाल्दै थिएँ म। आफ्नै जिन्दगीको प्रतिबिम्ब सायद देखेकी थिएँ मैले त्यहाँ। फोनको घण्टी बज्यो।
उस्कै फोन रहेछ। "हजुर" मैले उस्ले नगरेको संबोधनलाई स्वागत गर्दै भनें।
"आबाज त निक्कै मादक छ नी अझै सुतीरा हो कि के हो?" उस्ले सोध्यो।
"हो" मैले भनें।
"ल हेर तीजको दिनमा पनि अहिले सम्म सुतिरहने हो त?" उस्ले भन्यो। उस्लाई नदेखे पनि उस्का शब्दहरुमा मिसिएका मुस्कानलाई देखें मैले।
"हजुरले बिहानै नब्युँझाईदिएर त हो नी, ढिलो भाको" मैले स्वरलाई निक्कै लचिलो पार्दै भनें। उस्लाई म उस्ले र मैले एकै साथ चलाएका समयहरुमा "हजुर" सम्बोधन गर्छु।
"रहरहरु मेरा अधिनमा हुँदाहुन त म तिमीलाई न एक्लै सुत्न दिन्थे न एक्लै ब्युँझिन" उस्ले भन्यो।
उस्ले देख्दैनथ्यो र पनि म मुस्कुराएँ। उस्का शब्दहरुले भन्दा पनि भावहरुले अधरलाई जिस्काएका थिए मेरा। बाध्यताको जग्गामा उस्ले रहरको घर बनाएको थियो, सजाएको थियो तर आफैं पाहुना थियो। मान्छेहरुको धेरै घर हुन्छ्न। सुकुम्बासीको पनि। म पनि त सुकुम्बासी नै हो। मेरा पनि धेरै घरहरु थिए। अझै छन। उस्का पनि अरु घरहरु छन। घरको अधिन आफु हुनु र आफ्नो अधिन घर हुनुको भन्दा अलग अनुभव हो आफ्नो घरमा आफु हुनु। अरुको घर पनि आफ्नो हुन सक्छ अनि आफ्नो घर अरु कसैको। घर र पाहुनाको गहिरो सम्बन्ध हुन्छ। सामान्यत: परिभाषामा घर स्थाई र पाहुना अस्थाई हुन्छन तर बास्तबिकता सधैं त्यस्तो हुँदैन। आफ्नै घरमा डेरा गरेर झै बसेकाहरुलाई सोधे हुन्छ। आफुले बनाएको घरमा आफै पाहुना भएकाहरुका कुरा सुने हुन्छ। दुनियाँले तेरो भनेको घरमा मेरो भन्न डराउनेहरुलाई थाह छ। अरुहरुको घरमा चम्कि चम्कि जान खोज्नेहरु आफ्नो घरमा एउटा न एउटा बहानामा जान नखोज्नेहरुलाइ थाह छ। उस्लाई थाह् छ। मलाई थाह छ। उनीहरुलाई पनि थाह छ।
मेरो घर त पर्खालले घेरेको थियो। त्यो पर्खाल अहिले केबल पर्दा बनेको छ। पारदर्शी बन्दो छ। हावाको सानो प्रबाहमा पनि चंचल हुन्छ।
"तिमी त फेरी निदायौ कि के हो?" उस्ले सोध्यो।
"न त हजुरको अंगालोको ओछ्यान छ, न नै सर्सराउने स्पर्शको ओडने, अनि हजुरको छातीको सिराने पनि छैन, नत्र त निदाउँथे पनि होला" मैले मुस्कुराउँदै भनें। उस्ले पनि त्यो मुस्कुराहट सुनेको हुनुपर्छ, छटपटीदै होला भन्यो "तीज त अनन्त सम्म जिउँदो राख्ने बर्त हो क्यारे अहिले नै भुतुक्क पार्न नखोज न।"
उ सँग एक छिन जिस्किए पछि मैले फोन राखें।
यो बिहे भन्ने चिज पनि अचम्मैको रहेछ। सम्हालेर मैले राखेको बिहेका दुईटा निम्ता पत्रहरु झिकें। दुईटै उस्तै छन, भाका उही, कुरा उही तर मर्म फरक। पहिलो निम्ताको मर्म थियो, "हाम्रा चिरन्जीबी सुपुत्र शोभितको--- कि आयुष्मती सुपुत्री प्रियंका संग हुने शुभबिबाह ---" अनि अर्कोमा थियो "हाम्री आयुष्मती सुपुत्री अर्चनाको -- का चिरन्जीबी सुपुत्र बिकासका साथ हुने शुभबिबाह---" मैले दुईटै निम्ताहरुलाई पटक पटक पढें अनि फेरी फिर्ता राखें।
बिहे? मैले आफैले आफैलाई सोधें, यो बिहे भनेको के हो? समर्पण हो? बन्धन हो? बेपार हो? के हो बिहे? बिहे के पुरेतले अथवा अदालतले गराएर हुन्छ? कि मनले गराउने हो? हिंजो बिहे गराउने मन आज बेपत्ता भयो भने उस्ले गराएको बिहे के हुन्छ? एक पछी अर्को प्रस्नहरु समुद्रमा लहर झै उठन थाले। जबाफ दिने तिर लाग्नु साटो म दराजबाट राता सारीहरु, गरगहनाहरु झिक्न थालें। मेरो सौन्दर्य यसै पनि आगो थ्यो, त्यो मैले बुझेकी थिएँ। धेरै बर्ष भैसकेको थ्यो त्यो बुझेकी। ऐना अघि उभिएर जाँचीरहें एक छिन कुन चै पहिरनले सबै भन्दा धेरै आँधी चलाउन सक्छ होला भन्दै। आगो र आँधी मै सँग भए पछी बिचरा उ उम्कियोस पनि कसरी?
यसो घडी हेरेको, १० बज्न आँटीसकेछ। तीजको दिन भोक त मार्नै पर्ने हो। सोचें, अनि मुस्कुराएँ। एक कप मीठो चिया बनाएँ, अनि चुस्की लिंदै झ्यालमा उभिएर बाहीर हेर्न थालें। त्यो बाहीर मेरो पनि हो, अरुहरुको पनि। अरुहरु बाहीर जान्छन, बाहीरले आफुलाई चिनोस भन्ने ठान्छन तर पनि आफै भने बाहीर हुन खोज्दैनन। कतै न कतै भित्र जाने रहर हुन्छ उनीहरुको। त्यो भित्र कहिले आफ्नै घर हुन्छ, कहिले अरुको। मलाई पनि पहिला त बाहीर जाने रहर थ्यो, बाहीरले चिनोस भन्ने थ्यो। अचेल तर म प्रायस: भित्रै हुन्छु। तर यो भित्र पनि कसैको बाहीर हो। त्यो मैले बुझेकी छु। यो बाहीर मैले चिनेको बाहीर होईन। मैले चिनेको बाहीर अर्कै थियो। हुन त यो भित्र पनि मैले चिनेको भित्र होईन। तर अचेल म यही नौलो बाहीर सँग परीचित हुँदै छु। अलग भित्र सँग परीचय गर्दै छु।
झ्यालबाट निकै बेर मैले भित्रबाट त्यो बाहीरलाई नियाले रहें। मनमा उथलपुथलका ज्वारभाटा उठन थाले पछी भनें म हटें त्यहाँ बाट।
उ दिउँसोको खाना खान आउने हो कि होईन होला? अघि सोध्नै बिर्सिएछु। फोन गरें। "हजुर भुजा खान कति बेला आईपुग्ने? म ठिक्क त्यै बेलालाई