अमेरीका पढ्न भनेर आईया थ्यो। दोस्रो सेमेस्टरलाई बिदा गर्नु के थ्यो गर्मीको छुट्टी लाग्यो। Undergraduate भन्ने जन्तु अजङगको रहेछ। बुझ्दै थिएँ। त्यसैले सकेसम्म छिटो त्यसबाट उम्किने सुरमा दुई चरण गरेर गर्मी बिदामा पनि दुईटा क्लास सकाउने कार्यक्रम थ्यो। पहिलो चरणमा लिएको क्लास मंगलबार मंगलबार ६ -९ चल्थ्यो। बाँकी समय फुर्सद। एउटै नाम गर्या थुप्रै पसलहरु भएको एउटा पसलमा काम गर्थें म त्यतिबेला। मच्चाएर काम गर्नु पर्यो भनेर आफु काम गर्ने पसलमा भन्या माडसापले थप घण्टा मिलाउन नसक्ने कुरा गर्यो।
एक दिन पसलमा Territory Supervisor भन्ने आको बेलाँ यसो दुखेसो गर्या "पख म हेरम्ला" भन्यो। मेरो पसलको माडसापले पनि सिफारीस गरेकै हो।
पर्सी पल्ट हाकिम सुपरभाईजरले spring field को पसलमा गएर काम गर्न सक्छस भनेर सोध्यो मैले तुरुन्तै हुन्छ भनें।
भोली पल्टै त्यो अर्को पसलमा पुगेँ र आफु कुन कुन बेला काम गर्न सक्छु सुनाएँ। त्यो पसलको साहु मजाको रे छ मिलाईदिन्छु भन्यो। नेपालको बारेमा निक्कै कुरा सोध्यो। कामको पिर नगर भन्यो। अब भने दुईटा पसलमा गरेर भन्या जति काम भयो।
यता र उताको पसल चाहर्थें--स्कुल जान्थे--साथीहरु सँग बरालिन्थें। ठिकै थ्यो।
उताको पसलको साहु "म Manager मात्रै हैन मैले किन्या हो यो पसल" भन्थ्यो। हुरुक्क हुन्जेल काम गर्थ्यो। मलाई पनि "राम्रो काम गर तँलाई यो पसलको हाकिम बनाईदिम्ला" भन्थ्यो आस देखाउँथ्यो। त्यै पसलमा काम गर्दै थिएँ एक दिन दिउँसो १ बजे तिर एउटी हाम्रो छिमेकी गाम तिरकी होली जस्ती सुन्दरी आई पसलमा। मुसुक्क हाँसेर साहुलाई सोधी। उ त्यतै सामान मिलाउँदै थ्यो। सुन्दरी बोलेको सुनेर होला आयो। सुन्दरीलाई उस्की प्रेमीका भनेर चिनायो -- मलाई चै यही हो नयाँ मान्छे मैले भनेको भनेर चिनायो। सुन्दरीले साहु तिर इसारा गर्दै "तिम्रो बारेमा उस्ले धेरै कुरा गर्छ" भनी। शिस्टाचार र दुई शब्द साटासाट भयो। अनि उ गै।
त्यस्ती सुन्दरी मैले नी एउटा पाए त -- भन्ने मनमा त्यो दिन भरी लागि रहयो।
डेरामा म र मेरो एउटा साथी बस्थिम। उस्का दिदी भिनाजु न्यू जर्सीमा बस्थे। उ कुनै कुनै शुक्रबार-शनिबार तिर त्यता जान्थ्यो आईतबार आउँथ्यो। न्यू योर्कको गफ सुनाउँथ्यो। हामी बस्या सहरलाई गाउँ भन्थ्यो। म न्यू योर्क पुग्या थिईन। एउटा विकेण्डमा उस्ले मलाई पनि लाने भाको थ्यो। उ पनि बिस्तारै बिस्तारै उतै न्यू जर्सी तिर सर्ने कुरा गर्थ्यो।
डेरामा पुगेर आज पसलमा आकि सुन्दरीको कुरा सुनाएँ। "आर्काकी गर्ल फ्रेण्ड त्यो पनि साहुकी आउँदा तँलाई के को झम झम हो? बल्ल बल्ल भेट्या काम छ बन्चरोले हान्ला नी" भनेर झन सतर्क पो गरायो। हो त नी कामबाट घोक्रेठ्याक लायो भने?
सुन्दरी पसलमा आईराक्थी। कैले कैले त शनिबार आईतबार पनि आउँथी काम गर्थी। सघाउँथी। उ हरेक चोटी पसलमा आउँदा मलाई बेग्लै रमाईलो लाग्थ्यो। काम बाध्यता हैन उपहार लाग्थ्यो।
म अचेल त्यो नयाँ पसलमा धेरै पहीलेको मेरो डेरा नजिकको पसलमा थोरै काम गर्थें। त्यतै रमाईलो थ्यो। हुँदा हुँदै म पहिलेको पसलमा सोमबार र शनिबार गर्न थालें सुन्दरी आउने पसलमा बाँकि दिन।
एउटा शुक्रबार बेलुका यस्तै ६ जति बज्या थ्यो सुन्दरी आई पसलमा। साहु पछाडी हिसाब किताब गर्ने कोठामा थ्यो। मैले त्यही भनें। उ पछाडी गइन बरु म संगै कुरा गर्न थालि। उ भारतिय मुलकी रहीछ तर ट्रिनिडाडकी। बाउ आमा संगै सानैमा अमेरीका आएकी रे अब यतैकि नागरीक रे भन्थी। मैले सोध्या नागरिकताको कुरो चै। त्यतिबेला जो बिदेसी देखे पनि यस्को स्ट्याटस के होला जस्तो लाग्थ्यो आफुलाई खै किन हो। भरखरै Undergraduate सकेकी रहीछ।
नजिकै भएको एउटा ठुलो बिल्डिंग तिर देखाएर त्याँ काम गर्छु भन्थी। हिन्दी सिनेमा खुब हेर्दी रैछे। कुरा गर्थी। हिन्दी पनि मजाले बोल्थी। उस्ले मेरो बारेमा पनि सोधी। आफ्नो त ठण्डाराम। के भन्नु? पढ्नै धौ धौ।
उस्को ब्यक्तित्व एक दम न्यानो थ्यो। अनुहारमा मुस्कान हुन्थ्यो आँखामा चमक अनि ज्यानमा लचक। म सँग कुरा सकेर उ पछाडी गई। उस्लाई भेटेको दिन ननिदाए सम्म म उसैलाई सम्झिरहन्थें। साहुको माल सम्झेर तर केई न केई।
साहु सुन्दरीको कुरा गरेर थाक्दैन थ्यो। कैले बिहे गर्ने सुर छ उस्को, कस्तो बिहे गर्ने कहाँ गर्ने त्यस्ता अनेक थरी कुरा गरेर मलाई दिक्क पार्थ्यो। मलाई पनि बोलाउँला बिहेमा भन्थ्यो।
सुन्दरी भने साहुको खासै केही कुरा गर्दैन थी। उ आफ्नै बारेमा कुरा गर्थी। नेपालको बारेमा अनेक कुरा सोध्थी। नेपाल एक मात्र हिन्दु देश रे भनेर उ गर्व गर्थी। उस्लाई जे राम्रो लाग्थ्यो म पनि त्यस्तै कुरा गर्दिन्थे। उ भडकिनु भनेको मेरो जागीर सिताराम हुनु हो भन्ने मलाई थाह थ्यो। यस्तै कुराको सिलसिलामा मैले एक दिन उस्को देब्रे हातको साईली औंलामा झल्केको हीराको औठी तिर हेर्दै सोधें "तिमीहरुको कहिले बिहे गर्ने रे?" उस्ले म तिर हेर्दै नहेरी भनी "यो तिम्रो सरोकारको बिषय हैन"। म झसंग भएँ। उ रिसाई भन्ने लाग्यो मलाई तर उस्ले फेरी मेरो पढाईको बारेमा कुरा झिकी। उस्को आबाजमा कुनै रोष थिएन। मलाई अलि ढुक्क भो।
काम पढाई चल्दै थ्यो। सुन्दरी पसलमा आउने जाने गर्दै थिई। साहु बेपारमा ज्यान देर लागेकै थ्यो।
मंगलबारको दिन थ्यो। लन्च टाईममा उ आई। साहु पछाडी थ्यो पैसा जम्मा गर्न हिसाब मिलाउँदै थ्यो। उ सरासर उतै गई। भित्र गई, ढोका लाई। "मारोगी साहु, भाग्गेमानी त भाग्गेमानी हो -- यत्रो पसल छ त्यस्तो च्वाँक तरुनी छ --आफ्नो मात्रै कैले हुने होला?" सोचें।
अलिबेर पछी साहु निस्कियो म तिर हेर्यो आँखा झिम्क्यायो। एकै छिन पछी उ पनि निस्की। दुइटै पसलबाट हिने। सुन्दरीले जाँदा जाँदै अलि बेग्लै नयन बाणले हानेर गै आज।
६ बजे क्लास थ्यो। स्कुल लाने झोला मंगलबार मंगलबार पसलमा आउंदा सँगै ल्याउने गर्याथ्यो फेरी डेरा जान नपरोस भनेर। पछाडीको कोठामा राख्ने गर्या थ्यो। ५ बज्ना साथ पछाडी अफिसबाट झोला बोकेर म बत्तिएँ। रेल र बस गर्दै पुग्दा भ्याइ नभ्याई भो। क्लासमा मास्टर छिर्दा छिर्दै म पनि पुगेँ। झोलाबाट किताब झिक्छु त एउटा CD पनि निस्कियो। CD मा एउटा नोट पनि थ्यो जस्मा फोन नम्बर लेखेको थ्यो। म त सन्न भएँ। मास्टरले के पढायो कुन्नी त्यो दिन। केही थाह छैन।
घरमा आउँदा दस बजि सक्या थ्यो रातको। फोन गरेकै थिएन। गर्ने आँट पनि आएन। फोन गर्न उठाएको पनि फिर्ता राखेँ। बरु CD बजाएँ। पुरै गीत कुनै सुनिन-- एक पछी अर्को गर्दै कुन कुन गीत रहेछन सुनें --पुराना र नयाँ गरेर १५ वटा जति गीत थिए सबै प्रेम प्रसंगमा। गीत बज्दै थ्यो। म निदाएछु।
भोली पल्ट काममा पुगें। काम गर्दौ थिएँ फोन बज्यो। साहु फ्लोरमा थ्यो मैले नै उठाएँ -- सुन्दरी रहीछ "साहु खै?" सोधी। मैले फ्लोरमा मात्रै भनेको थिएं उस्ले हिन्दीमा सोधी "गीत सुनेउ?"
मुटुको धडकन बढ्यो मैले "अँ" मात्रै भनेँ। उस्ले "किन फोन नगरेको?" भनेर सोधी मैले "ल म साहुलाई दिन्छु" भनें। उस्ले "डरपोक" भनी। साहुले "कस्को फोन?" सोध्यो "सुन्दरीको" भनें उस्ले "म पछाडी अफिसवाट उठाउँछु" भन्यो र गयो पछाडी। उस्ले उठायो मैले राखी दिएँ। मन अझै बत्तिदै थ्यो।
उ सधै पस्चिमी पहीरनमा हुन्थी। सारीमा उ कत्ति राम्री देखीदी हो भन्ने मलाई लाग्थ्यो। उस्लाई मैले आफ्नै धुनमा आफ्नै सुरमा कैले fire engine red त कैले Electric Blue अनि यस्तै कैले कुन कैले कुन सारीमा सजाउँथे। हुण्डरी मच्चाउँदी हो जस्तो लाग्थ्यो उस्ले सारीमा। मैले उस्लाई एक दिन सोधेको पनि थिएँ सारी लाउने गरेको छैन भनेर? उस्ले "अब बिहेमा लाउने" भनेकी थिई। साहुले बिहेमा बोलाउँछु त भन्थ्यो तर खै त्यस्तो तालमा साहुको बिहे पो के हुने हो? साहुको माया पनि लाग्थ्यो।
उस्ले बेला बेला फोन गर�