चुच्चेपाटी बाट बौध तिर जाँदै गर्दा जिम्मालले सोचे "कस्तो बुद्धि ल हेर उही बेलाँ यसरी दुई चार वटा न्वारन गर्न पा भए? थुक्क! कति जना उम्की सके नी नारन मेरो बुद्धि नपुगेर --" तर फेरी सोचे "जे होस खाता चै खोल्ने भैयो आज--" उनको मन सोह्रखुट्टेको ओरालो मा ब्रेक फेर्न पर्ने भन्दै गर्या पुरानो एट्लास साइकल सुइंकेको जस्तो बत्तिराथ्यो। ब्रेक लाउँदै त थिए जिम्माल तर त्यो सुइकिन्तामको रमाइलोमा उनी ब्रेक छोडम छोडम झैं पनि गर्दै थिए।
****
साझामा जिम्माल भन्दा टोल छिमेक सबैले चिन्ने। चौतारीको त हाकिम जस्तै भैसकेका थिए। त्यसैले मनमा लागेको कुरा भन्न कम्तीमा दुइचोटी सोच्नु पर्ने हालत थ्यो। उनलाई यो पटक्कै मन परेको थिएन। उनी पैला पैला बानेश्वर देखि बालाजु सम्म जसरी गस्ती गर्थे त्यस्तै मस्ती साझामा गर्न खोज्थे तर डराउँथे। "ल हेर हेर जिम्मालले गती छोडेका --" भन्लान बाहीर कसैले भनेर त्राहीमाम हुन्थे। घरमै भा एकजनाको त झन उनलाई असाध्यै डर थ्यो। जिम्माल दिक्दार थिए। त्यसैले उनी अचेल बिहानै भगबान बहाल जान्थे अनि उतै समय बिताउँथे। तरुनीहरु हेर्थे, आफ्नो मनमा ताल्चा मारेर घराँ साँचो बोकेर बसेकीलाई सम्झिन्थे। हुरुक्क हुन्थे।
त्यस्तै एउटा शनिबार बिहान त्यै भगवानबाहलमा पूजा गर्न आएका सुन्दरीहरुलाई हेर्दै आशा चुरोट तान्दै आफ्ना रहरहरुलाई त्यै धुवाँ जसरी उडाउँदै थिए बिस्टे टुप्लुक्क आईपुग्यो "के हो जिम्माल--" भन्दै। जिम्मालले बिस्टेलाई देखेका थिएनन, आत्तेर भजन गाए " भष्म दलेर शम्भु तिमीले --- " । सुन्दरीहरुलाई कर्के नजरले छिर्के हान्दा तरुनीहरु भडकिएर सराप्न थाल्लान जस्तो लाग्यो उनलाई भने मन्दीर तिर हर्दै हत्तनपत्त त्यै भजन गाउँथे। त्यो भष्म दलेर शम्भु तिमीले भन्ने भजन उनलाई कण्ठै थ्यो।
"म हो जिम्माल, के को शम्भु हुनु -- अनि खरानी सरानी नी दल्द्या छैन मैले तिमिलाई सम्धि" बिस्टेले जिम्मालको हातबाट आशा चुरोट लिएर आफ्नो याक सल्काउँदै भन्यो।
"ए ए सम्धि के गर्या यस्तो? पेट फुटाल्दिने यत्तिकै आर्काको भन्दैमा?" जिम्मालले हात लम्काउँदै भने।
बिस्टेले पैला त बुझेन तर जिम्मालले फिर्ता लिएको आशा चुरोट तिर हेर्दै भन्यो "अब चुरोटको नाम मात्रै आशा तर निराश भैसकेको रैछ सम्धि जस्तै--अन्त सल्काउनलाई अलि जोड सँग झोसेको फुटेछ पेट--ल ल भै गो म सँग याक छ ल " बिस्टेले एक खिल्ली चुरोट जिम्माल तिर दिंदै भन्यो।
जिम्मालले एक चोटी बिचमा फुटेर अलिकति सुर्ती निस्केको आफ्नो आशा चुरोट तिर हेरे अनि बिस्टेले देको याकलाई त्यै आशाले जतन सँग सल्काए।
"के भो जिम्माल, दिक्दार देख्छु नी -- त्यत्रो चौतारीको हाकिम जस्तो मान्छे -- ठिटाहरु ठीटीहरु जम्मै जिम्माल भनेर हुरुक्क हुन्छन -- "
बिस्टेको कुरा काट्दै जिम्मालले भने "ठीटाहरु त हुरुक्क हुन कि सिद्धिउन, मलाई वास्ता छैन ---"
"अनि ठीटीहरु? --" बिस्ट्ले मुस्कुराउँदै सोध्यो।
"मुस्किल त्यै त भो त सम्धि --" जिम्मालले तानेको लामो सर्को छोडदै भने।
"के मुस्किल?" बिस्टेले सोध्यो।
"कस्तो के मुस्किल रे? अब मनको कुरा भन्न मन लाग्छ ठीटीहरुलाई, तल माथि पर्यो भने जिम्माल भनेर सबैले चिन्छन, अनि परेन मुस्किल?" जिम्मालले भने।
"ल हेर सम्धि पनि--यति सानो कुरामा पनि दिक्क मान्ने हो के त?" बिस्टेले हाँसेर भन्यो।
"के गर्ने त?" जिम्मालले उपाय छ कि झै गरी सोधे।
"नाम फेर्ने नी जिम्माल, फरक फरक सुन्दरीहरुको लागि फरक फरक नाम --" बिस्टेले फुर्ती सँग भन्यो।
"हैन --काम गर्छ र?" जिम्माल अलि अलि पाउलिए--नत्र त खडेरीको रुख जस्तो भैसकेका थिए।
"कस्तो गर्छ र भनेको? गरीरा छ -- गोडा दशेक चोटी त मैले न्वारन गरी सकें आफ्नो" बिस्टेले बिजयी मुस्कान छर्दै भन्यो।
"ए हे सम्धि, हो र भन्या?" जिम्माल अहिले भने हाँसे।
"किन होइन्त? अब मेरा नामहरु चै नसोधम है जिम्माल --भन्न मिल्दैन" बिस्टेले सुनायो।
"पुराना नामहरु भन्न नमिले नी नयाँ चै भनीराखम न -- फेरी म र सम्धि नै जुधिम भने के गर्नु?" जिम्मालले भने।
"त्यो त हो --- ल ल मैले हिजै मात्र राखेको छ "किरण" भन्ने। हाललाई किरण वाट अलि टाढै बसम् झै सम्धि" बिस्टेले हाँस्दै भन्यो।
"ल ल -- बरु म के नाम् राखम यसो आईडिया पाम्न" जिम्मालको स्वर निकै चखिलो हुन थाली सकेको थ्यो।
"नाम त अब जे राखे नी भो नी -- "बिस्टेले यता उता हेदै अघि भरखर जिम्मालले फालेको आशा चुरोट देखाउदै भन्यो "आशा राखे नी भो"
"काँ आशा राख्ने? त्यो त केटीको नाम भो नी" जिम्मालले भने।
"सम्धिको नाम आशाकाजी नी त छोटकरीमा आशा नी" बिस्ट्ले अर्थ्यायो।
बिस्टेलाई जिम्मालले सामाखुसी ओर्लीने बाटै छेउको भोजनालयमा लगेर दरो चिया नास्ता गराए त्यो दिन।
ठमेलमा फेरी मान्छेलाइ शंका होला भनेर नक्सालको साईबर क्याफेमा पुगे जिम्माल र "आशा" भन्दै साझामा दर्ता गराए आफुलाई।
एक दुई दिनमै जिम्मालले पेमा भन्ने भेट्टाए, जाउलाखेलकी रे।
अब कसैले चिन्ला भन्ने डर थिएन, जिम्माल निर्धक्क कुरा गर्थे, पेमा पनि उस्तै।
एकहप्तै नभै पेमाले भेटने कुरा झिकी -- जिम्मालले नाईँ भन्ने कुरै भएन।
पेमा जाउलाखेलमा नभेट्ने भन्ने जिम्माल ठमेल तिर हुन्न भन्ने -- "न्युटल ठाममा भेट्नु पर्छ" भन्नेमा दुईटैको सहमती भो र बौधमा भेट्ने भए।
"छ्याङ स्याङ पनि तान्यो दुबैले --अन्त --" भन्दै जिम्माल दंग परे।
*****
चुच्चेपाटी बाट बौध तिर जाँदै गर्दा जिम्मालले सोचे "कस्तो बुद्धि ल हेर उही बेलाँ यसरी दुई चार वटा न्वारन गर्न पा भए? थुक्क! कति जना उम्की सके नी नारन मेरो बुद्धि नपुगेर --" तर फेरी सोचे "जे होस खाता चै खोल्ने भैयो आज--" उनको मन सोह्रखुट्टेको ओरालो मा ब्रेक फेर्न पर्ने भन्दै गर्या पुरानो एट्लास साइकल सुइंकेको जस्तो बत्तिराथ्यो। ब्रेक लाउँदै त थिए जिम्माल तर त्यो सुइकिन्तामको रमाइलोमा उनी ब्रेक छोडम छोडम झैं पनि गर्दै थिए।
***
कुमारीगाल तिर स्याँ स्याँ र फ्याँफ्याँ गर्दै कुदेका जिम्माललाई रोक्दै हर्के र बिस्टेले सोधे "के भो ए जिम्माल?"
जिम्मालले दुईटैलाइ हेरे -- अनि बिस्टेलाई अलि पर तानेर भने "बर्बाद भो नी, सम्धी"
"के भो?" बिस्टेले पनि चिन्तीत हुँदै भन्यो।
"पेमा थिईन? हो उसैलाई भेटन आएको बौध --" जिम्मालले हर्के कता छ भन्दै हेर्दै सानो स्वर्मा भने।
"हत्तेरी सम्धी -- कस्तो आत्तेको त -- अब बौध जानु पर्ने मान्छे यसरी फाल हाल्दै कहा यता कुमारीगाल तिर आईपुगेको त?" बिस्टेले मुस्कुराउँदै भन्यो।
"बौधै पुगेर आएको हो सम्धी" पल्याक पुलुक हेर्दै जिम्मालले भने " -- त्यो पेमा भन्ने त दोहोरो ज्यानको अजंगको मान्छे रे छ पो रे छ तरुनी भनेको त ---- मै हो आशा भनेको त सम्धी --राम् राम् राम्--बिच्किएर भनेको-- कम्ती खेदायो र ----- "
******