टिप्पणी गर्नु हुने र मन पराइ / नपराइ पढी दिनु हुने सबै मित्रगण प्रति हार्दिक नमन गर्दै अर्को भाग प्रस्तुत गर्दै छु |
जेल यात्रा
भाग ३
पुलिस ले पिट्यो रे ...पिट्दैमा नभाको कुरा हो भन्नु पर्छ त त्यो पनि हत्या जस्तो संगिन आरोपमा ? मैले पनि केही केरकार गरें|
हैन सर, म बिस्तारमा भन्छु |
"अजि (बजेइ) को हत्या भएको थाह भए पछि पुलिसलाई पहिलो सूचना दिने मान्छे नै मै हुँ | अजिको बारे सम्पूर्ण जानकारी दिने नै मै हुँ | सबैभन्दा नजिकको आफन्त पनि मै हुँ | एक्लै बस्ने गरे पनि ट्याम ट्याम मा हेरविचार गर्ने पनि मै हुँ | खुशी भएर अजिले सबै सम्पति शेष पछि मेरो नाममा गरि सक्नु भएको थियो | दिन दिनै हनुमान ढोका जान्थे, अनुसन्धानमा प्रगती भयो कि भनेर | सोधेको जवाफ दिन्थे | ७-८ दिन पछि ७-८ जनालाई समाएर ल्याए छ, पुलिस ले | मलाई यिनमा को माथि शंका लागेको छ भनेर सोधे | मैले चिन्दिन कोहि पनि भनें | एक जना जग्गा सम्बन्धि काम गर्ने वकिललाई चाहि बजेइ कै एक टुक्रा जग्गा बेच्ने क्रममा चिनेको थिएँ | तर पुलिसले थप झन्झटमा पार्ला भनेर त्यसलाई नि चिनेको छैन भन्दिए | "
भोलिपल्ट अफिस सके पछि हनुमान ढोका गएको थिएँ, केही पत्ता लाग्यो भनेर |
"अरुले बकी सक्यो हत्या गर्ने मुख्य अपराधी तैं हो" भनेर नेल लगाई हाल्यो |
"मैले साप के गर्नु भएको यो के भनेको थिएँ , बढी बोल्ने हैन" - भन्दै एक झाप्पु लायो अनि "जे बोल्नु छ , भोलि सरकारी वकिलको कार्यालयमा बोल्ने | ओह केटा लै जाउ त्यसलाई केरकारमा | "
मैले आफ्नी श्रीमतीलाई नि खबर गर्न सकिन | नेल लगाएर हनुमान ढोका थानाको केरकार कोठा भन्नेमा लग्यो |
"तैले किन हत्या गरिस , आफ्नै बजेइलाई ल भन" -हिजो सम्म नमस्कार फर्काउने पुलिसको सक्कली अनुहार देखें |
"साप मैले गरेको हैन , मैले गरेको भए म दिन दिनै सरको मा किन धाउँथें ? जाहेरी नै किन दिन्थे ?"
"पुलिसलाई उल्टै कोइशन ?? ल भन खुरुक्क यो कागजमा सहि गर्छस कि भित्र लगेर केरकार गरूँ? "
"साहेप मैले गरेकै होइन त म किन गरूँ ?" मात्र के भनेको थिएँ , "लैजा केटा यसलाई भित्र | लातको मान्छे बात ले बोल्दैन | " पुलिसको क्रुरताको पहिलो रुप देखियो |
भित्र अँध्यारो कोठा , बत्ति भए न भएको जस्तो | आँखामा पत्त्ति लगायो | नेल लगाएको हातलाई खै के मा हो झुन्ड्यायो |
"तैले हत्या गरेको स्वीकार्छस् कि नाईं भन्छस्" - भन्दै सलिड प्लास्टिकको पाइप हो कि रबरले झुण्डीएको पैतलामा के एक डण्डा के हानेको थियो , तीन त्रिभुवन देखें |
"मैले सर मैले हैन , मैले कही गरेको छैन" - भन्न सकेको थिएन अर्को पाइप हान्यो |
मैले केही सोच्न सकिन , बाल बच्चा सम्झे , श्रीमती सम्झे | भगवान सम्झें |
"साला कुकुर, मान्छे मारेर नि चुँ सम्म नि गर्दैन , दे अर्को एक |" हाकिम चिच्यायो |
अर्को एक पाइप खाँदा लाग्यो, अब बाँच्दिन | बाच्नु छ भने हो नै भन्नु पर्छ | १०-१५ जेल बस्नु परे नि मर्नु भन्दा हो भन्नु नै जाती भनेर मैले हिम्मत हारें |
"हो सर मैले , हो भनें | हो भन्नै पर्र्यो | "
"साप मैले नै मारेको हो साप, गला थिचेर मारेको हो " भने पछि बल्ल पानी खान दियो | भोलि पल्ट सरकारी वकिलको कार्यालयमा फेरी डण्डा खाने डरले मैले नै मारेको हो भनेर साबिती बयान दिएँ | टोलमा भएको सर्जमिनमा पनि फेरी त्यही डण्डाको भूतले तर्सायो र मैले नै मारेको हो भनि दिएँ |
या त मलाइ थाहा छ या भगवानलाई , मैले मारेको हैन सर ,मैले मार्नु पर्ने कुनै कारण नै थिएन | ८३ बर्षकी अजि कति बर्ष नै बाच्नु हुन्थ्यो र सम्पतिको लोभमा हत्या गरूँ ?? उहाँको शेष पछि मेरै हो | त्यसमाथी म माथि कुनै शंकट आइलागेको थिएन, घर छ , जागिर छ |
"त्यसो भए अहिले के गर्ने बिचार गर्नु भएको छ त ??" मैले भाबी योजना जान्न खोजें |
सके सम्म छिटो यो खोरबाट निस्कन चाहन्छु , घरमा फुच्चे बिरामी छ रे , हिजो बुढी भेट्न आएकी थिई | हरिदाइ को अश्रुधारा बाह्रमासे खोला सरि थियो | पीडा बगिरहेको थियो | बिबशता सुक्सुकाइ रहेको थियो |
मुद्दा चलिराख्या छ | वकिल अर्कै राख्नु पर्छ भन्ने सल्लाह आएको छ ससुरालीबाट |
"वकील त तकडा नै राख्नु पर्छ है " मैले नि हौस्याए|
"को वकिल ?" मलाई जिज्ञासा लागेर सोधें |
फलानो ....( नाम चाही उल्लेख नगर्नु नै बेश होला ) |
मैले तत्काल हुँदैन भने |
" किन ?? "
"त्यो क्रिमनल जस्टिसको ज्ञाता हैन, सम्बन्धित वकिल नै हाल्नु पर्छ है , यो संगिन मुद्दा खेलाँची हैन | "
"हुन्छ सर म यो कुराको बिचार गर्छु | सर चाहि मेयर साहेबलाई मेरो कुरा पुर्र्याई दिनु पर्र्यो | मेयर साहेबले केही गर्नु सक्नु हुन्छ कि ? " हरिदाईले हतास आश प्रकट गर्नु भयो |
" हेर्नुस् दाई , तपाइँले मयेर साहेबलाई चिन्नु भएकै छ | यस्तो केसमा मेयर साहेबले पोलिटिकल कन्ट्याक्ट युज गर्नु हुन्न | गर्नुस भन्न नि मिल्दैन | तर तपाइको पीडा र दुखेसो चाहि सुनाइ दिन्छु | अरु कसैलाई केही भन्नु छ भने भन्नुस मा भन्दिन्छु | "
"पर्दैन सर , तपाइँले मलाई हत्यारा न ठानी दिए पुग्छ | "
त्यतिन्जेल खाजा ट्याम भयो | जेल भित्रको कैदी जेलर साहेबको कहानी त सुन्ने बाँकी छ | खाजा रेडी भएको कृष्णेले जानकारी गराई सकेको थियो |
जेल भित्रको खाजा, खसी मासु च्युरा , आलु चना तरकारी , टिमूर हाल्या गोलभेडाको अचार | बडा मिठो रहेछ , तीता कुराहरु बीच |
"लौ जेलर साहेब, तपाइँ को सिङ्गै कहानी सुन्न बाँकी नै छ | खाजा खाए पछि चुरोसको तलतल लाग्यो | एक खिल्ली तानेर आउछु, जेल भित्र न खानु भएन नि भन्दै बारी जेल बाहिर निस्केर कसरी पो फेरी छिर्ने हो मिलाई दिनुस न भनें |
पुरानो जेलर न ठहरियो | सेन्ट्रीमा बसेको पुलिसहरुलाई अर्डर गर्नु भयो - सर एक छिन को लागीर बाहिर निस्कनु हुन्छ , फेरी ससम्मान मेरो कोठामा पुर्र्याई दिनु नि फेरी | हस साब भन्दै कैदी जेलरलाई स्यालुट मार्दै
" जाम सर एक छिन बाहिरको हावा खान |"
पुलिसले पनि मेरो उकुसमुकुस बुझे जस्तो गरि भन्यो |
क्रमश: