काठमाडौ, चैत्र ७ - मौद्रिक अर्थशास्त्री युवराज खतिवडा करिब ५ वर्षपछि आफ्नै राष्ट्र बैंक फर्किएका छन् । सहायक अधिकृतबाट २०४० सालमा केन्द्रीय बैंक प्रवेश गरेका उनी कार्यकारी निर्देशक पदबाट २०६१ सालमा बाहिरिएका थिए । सरकारले शुक्रबार केन्द्रीय बैंकको सर्वोच्च पद गभर्नरमा उनलाई नियुक्त गरेको छ ।
अर्थतन्त्रमा चुनौती देखिएका बेला राष्ट्र बैंकमा २१ वर्ष लामो र अन्तर्राष्ट्रिय क्षेत्रको समेत अनुभव भएका व्यवहारवादी अर्थशास्त्री खतिवडाको नियुक्तिले सकारात्मक सन्देश दिने अपेक्षा गरिएको छ । ५ वर्षअघि समेत गभर्नरको चर्चामा आए पनि अन्तिम समयमा कानुनी अडचन देखाइएपछि उनी प्रतिस्पर्धाबाट बाहिरिएका थिए । यसपल्ट पनि निकै लामो विवाद र प्रतीक्षापछि उनी नियुक्त भएका छन् ।
इमान्दार र सम्झौता नगर्ने स्वभावका खतिवडाका लागि नयाँ नियुक्ति अब अर्को परीक्षा हुनेछ । कांग्रेस र एमालेले यो पदलाई पछिल्लो समय प्रतिष्ठाको विषय बनाएका थिए । पाँचवर्षे गभर्नरको पदावधिमा उनले आफ्नो छवि बचाउन सक्छन् सक्दैनन् भन्ने मूल प्रश्न उनका लागि सधैं चुनौती बन्नेछ । उनका लागि बढिरहेका बैंक तथा संस्था, तिनको नियमन र सुशासन पहिलो काम हो । नेपाल विकास बैंकको खारेजी भए पनि त्यसका दोषी कारबाहीको दायरामा आउन सकेका छैनन् ।
नियुक्तिलगत्तै कान्तिपुरसँग कुरा गर्दै उनले तत्काल मौदि्रक नीतिको समीक्षा गर्ने बताए । अर्थतन्त्रमा अहिले समस्या देखिएको छ ।
शोधनान्तर घाटा बढेको छ । निर्यात व्यापार घटेको छ । मूल्य वृद्धि दोहोरो अंकमा छ । कुल गार्हस्थ उत्पादनको वृद्धिदर कम छ । राष्ट्र बैंकले विलासिता र अनुत्पादनशील क्षेत्रमा जाने कर्जामा कडाइ गर्दै विकास तथा पूर्वाधार र उत्पादनमूलक क्षेत्रमा लगानी विस्तार गर्ने गरी क्षेत्रगत आधारमा संकुचन र विस्तारको नीति लिनुपर्ने उनले बताए । उनले भने, 'अर्थतन्त्रमा तरलता छ तर बैंकिङ संयन्त्रमा तरलता छैन, त्यसलाई कसरी ल्याउन सकिन्छ भनेर बैंकर्सहरूसँग पनि
छलफल गर्नेछु ।'
यसबाहेक बैंक तथा वित्तीय संस्थाको नियमन र सुपरिवेक्षण सुदृढ बनाउन र सुशासनका लागि काम सुरु गर्ने पनि उनले आफ्नो योजना रहेको बताए । यसबाहेक नयाँ संस्था खुल्ने र क वर्गमा स्तरोन्नति हुने अहिलेको लहरबारे पुनरावलोकन गर्नुपर्ने सोचाइ पनि रहेको उनले बताए । 'राष्ट्र बैंककै कर्मचारी, सरकार र अन्य सरोकारवालासँग छलफल गरेर अघि बढ्नेछु,' उनले भने, 'राष्ट्र बैंकका कर्मचारीको आत्मसम्मान उच्च बनाउन प्रयास गर्नेछु ।'
को हुन् खतिवडा ?
२०१३ सालमा ताप्लेजुङमा जन्मेका खतिवडाको स्थायी घर झापाको वेगुन्धरामा छ । त्रिविबाट अर्थशास्त्रमा स्नातकोत्तर र जनप्रशासनमा स्नातकोत्तर गरेका उनले दिल्ली विश्वविद्यालयबाट २०४८ सालमा मौदि्रक अर्थशास्त्रमा विद्यावारिधि गरेका हुन् । राष्ट्रिय योजना आयोगका सदस्य रहेका उनी माधव नेपालको सरकार बनेपछि आयोगका उपाध्यक्ष भएका थिए । राष्ट्र बैंकबाट २०६१ सालमा अवकाश पाएका थिए ।
२०६३ देखि कोलम्बोस्थित राष्ट्रसंघीय विकास कार्यक्रमको एसिया प्रशान्त क्षेत्रका लागि वरिष्ठ अर्थशास्त्री (आर्थिक सल्लाहकार) का रूपमा उपाध्यक्ष हुनुअघिसम्म कार्यरत थिए । एमाले निकट मानिने खतिवडा अर्थशास्त्रका सिद्धान्तलाई व्यवहारमा उतार्न सक्ने थोरै अर्थशास्त्रीमा पर्छन् । त्यसैले खतिवडालाई उदारवादी अर्थतन्त्रको पक्षपोषक मानिने कांग्रेसले योजना आयोगमा सदस्य बनाएको थियो । बजेट तयारी र थुप्रै अनुसन्धान तथा आयोगमा उनको अनुभव छ ।
कक्षा चढे जस्तो स्तरोन्नति हुनुहुँदैन
कान्तिपुर: योजना आयोगको उपाध्यक्षभन्दा वरीयता क्रममा निकै तलको पदमा जानुभयो । शक्ति, पैसा वा अरू के छ त्यहाँ जसले तपाईलाई लोभ्यायो ?
खतिवडा : त्यो केही पनि होइन, यो उपाध्यक्ष गभर्नर हुँदै घर जाने बाटो हो, त्यसमाथि तपाईहरू मिडियाजस्तै ग्ल्यामर पनि छ यसमा ।
कान्तिपुर: राष्ट्र बैंकमा काम गरेकाले नोटमा हस्ताक्षर पनि आकर्षण मानिन्छ । त्यो पनि हो कि ?
खतिवडा : त्यसो पनि होइन । तपाईको खल्तीमा भएको नोटमा हस्ताक्षर गरेका मानिस बाटोमा हिँडिरहेका छन् तर अरूले चिन्दैनन् ।
कान्तिपुर : कहाँबाट काम सुरु गर्नुहुन्छ ?
खतिवडा : मौदि्रक नीति पुनरावलोकन गर्नुपर्छ भन्ने मलाई लागेको छ ।
कान्तिपुर : के छन् योजना ?
खतिवडा : अर्थतन्त्र संकटतर्फ उन्मुख देखिएकाले सैद्धान्तिक र व्यावहारिक ज्ञान उपयोग गरेर त्यसलाई ठीक दिशामा अघि बढाउन सबैको सहयोग लिएर प्रयास गर्नेछु । यसका लागि मौदि्रक नीतिको समीक्षा तत्काल गर्नुपर्छ जस्तो लाग्छ ।
कान्तिपुर : बैंक र वित्तिय संस्था बढिरहेका छन्, यसलाई कसरी हेरिरहनु भएको छ ?
खतिवडा : विद्यालयमा कक्षा चढे जस्तो स्तरोन्नति हुनुहुँदैन भन्ने भन्ने मेरो व्यक्तिगत
धारणा छ । पुँजीलाई मात्र यसको आधार बनाउनु हुँर्दैन, संचालकहरुको विश्वसनियता लगायत धेरै कुरा हेर्नुपर्छ । त्यसैले यस बारे पनि व्यापक छलफल अघि बढाउनु पर्छ ।