२०६३ पुस २७ देखि पृथ्वीजयन्ती एवं राष्ट्रिय एकता दिवस मनाउन छाडियो । तत्कालीन सरकारले तत्कालीन राजासँगको रिसले आफ्नो इतिहासलाई बिर्सने र बिर्साउने प्रयास गरे पनि स्वदेशी वा विदेशी कुनै पनि लेखकको नेपालसम्बन्धी इतिहास पढ्दा पृथ्वीनारायण शाह मेटाउनै नसकिने राष्ट्रिय सपूत हुन् भन्ने स्पस्ट हुने रहेछ ।
१६ नोभेम्बर २००८ मा उपप्रधानमन्त्री वामदेव गौतमले सार्वजनिक स्थानबाट नेपालका पूर्वराजाहरूको मूर्ति हटाउने बताएका थिए । उक्त अभिव्यक्ति पचाउन नसकेर भारतमा सिक्किम गाभिएको विषयमा पुस्तकसमेत लेखेको सुनन्दा के दत्तरोयको २१ नोभेम्बर २००८ मा कलकत्ताबाट निस्कने पायनियर दैनिकमा 'नेपालले आफ्नो विगतलाई अस्वीकार गर्न हुन्न' नाममा लेख छापिएको छ । उनले भगवान्ले विगतलाई बदल्न सक्दैनन् तर इतिहासकारले त्यसो गर्ने प्रयास गर्छन् भन्ने एक अर्का लेखकको सन्दर्भ जोड्दै 'पृथ्वीनारायण शाहले नेपाल स्थापना गर्न खेलेको भूमिकालाई स्मरण नगरी कसरी आधुनिक नेपालले आफूलाई भारत र चीनबाट अलग, स्वतन्त्र एवं सार्वभौमसत्तासम्पन्न राज्यको पहिचानको दाबी गर्नसक्छ ?' प्रश्न गरेका छन् ।
तत्कालीन परिवेश र नेपाल
आखिर को हुन् पृथ्वीनारायण शाह ? २८६ वर्षअघि १७७९ पुस २७ मा शाह जन्मिएको बेला र २० वर्षको उमेरमा गोरखाको राजा भएको बेला आज हामीले पाएजस्तो नेपाल एउटा देश थिएन । टिष्टा नदीपूर्व र सतलज नदीपश्चिममा करिब ८२ वटा अलगअलग हिन्दु राजा भएका पहाडी राज्य थिए । त्यसमा काठमाडौंपूर्व एवं दक्षिणमा सेन राजाहरू भएको मकवानपुर, चौदण्डी र विजयपुर थिए । काठमाडौं उपत्यकामा काठमाडौं, पाटन र भादगाउँ तीन मल्ल राज्य थिए । काठमाडांै पश्चिममा गोरखा र त्यसपछि चौबिसी र बाइसी राज्य थिए । त्योभन्दा अझ पश्चिम सतलज नदी पूर्व र शिख राज्य उत्तरमा बाह्र ठकुरी र अठार ठकुरीका ससाना राज्यहरू थिए । उत्तरमा शक्तिशाली चीनसँग घनिष्ट सम्बन्ध भएको तिब्बत थियो भने दक्षिणमा शक्तिशाली मुगल साम्राज्यको पतनसँगै बेलायती साम्राज्यले इस्ट इन्डिया कम्पनीमार्फत आफ्नो प्रभाव बढाउन भर्खरै सुरुवात गर्न थालेको थियो ।
भौगोलिक विकटताको अलावा यी पहाडी राज्यहरूको बीचमा धेरै समानता थियो । यी सबै राज्यमा राजपूत ठकुरीहरू नै राजा थिए, शासन, प्रशासनको पद्धति पनि उस्तै थियो र जनतामाथि लगाइने करको प्रकृति पनि उस्तै थियो । त्यस अलावा तिनीहरूका बीचमा रहेको एउटै धर्म, संस्कृति, रीतिरिवाज, जीवनपद्धति र भूगोललाई हेर्दा ती अलगअलग बस्नुपर्ने कुनै कारण थिएन । यी सबै विशेषतालाई सामूहिक रूपमा बचाउन दक्षिणबाट बढ्दै गएको अाग्रेजसँग कुनै न कुनै रूपमा टक्कर लिनुपर्ने अवस्था सिर्जना हुँदै थियो । ससाना टुक्रामा रहेका यी भुरेटाकुरे राज्यका राजा आआफ्नो अस्तित्व रक्षाका लागि एकआपसमा लडेर आफ्नो स्रोत र साधनको अनावश्यक क्षय गरिरहेका थिए र संसार जित्दै हिँडेको अंग्रेज साम्राज्यसँग लडेर आफ्नो अस्तित्व जोगाउने अवस्थामा यी कोही पनि थिएनन् । यो अवस्थाबाट मुक्त हुन यिनीहरू सबैलाई एउटै शासन र झन्डामुनि ल्याउनु अनिवार्य थियो । त्यो जिम्मेवारी ती भूभागभित्रका जुनसुकै राजाले लिन सक्थे । तत्कालीन अवस्थामा पाल्पा, जुम्ला, प्यूठान, डोटी, सल्यान, दुरैल, जाजरकोट र काठमाडौं उपत्यकाका राज्य गोरखाभन्दा ठूला र शक्तिशाली हुँदाहुँदै कठिन नेपाल एकीकरण अभियानको सुरुवात पृथ्वीनारायण शाहबाट भएको पाइन्छ ।
पृथ्वीनारायणभित्र चाहे त्यसलाई इच्छा, महत्त्वकांक्षा वा दूरदृष्टि भनौं, नजागेको भए र त्यसलाई साकार पार्न उनले कठोर परिश्रम नगरेको भए नेपाल भन्ने राष्ट्र रहने थिएन र नेपालको अनुपस्थितिमा नेपाली भन्ने जाति पनि रहने थिएन ।
एकीकरण
आजको अन्तर्राष्ट्रिय कानुनले समेत मानेको १८ वर्षसम्मको व्यक्तिलाई बालक मानिने उमेर भर्खरै पार गरेका पृथ्वीनारायण शाह २० वर्षको उमेरमा गोरखाका राजा भएका थिए । उनले आफ्ना पिता नरभूपाल शाहले फत्ते गर्न नसकेको नुवाकोट विजय अभियानबाट टुक्राटुक्रामा विभक्त नेपालको एकीकरण आरम्भ २१ वर्षको उमेरबाटै गरे ।
त्यसबखतमा पनि पहाडी राज्यहरूमा काठमाडांै उपत्यकाको धेरै ठूलो महत्त्व थियो । काठमाडौं उपत्यकाको तिब्बतसँग ठूलो व्यापार रहेको र तिब्बतमा चल्ने मुद्रा नेपाल -काठमाडौं) मा निर्माण भएका शुद्ध चाँदीका टक नेपाली मुद्रा रहेको र त्यसबापत ठूलो परिणाममा सुन काठमाडौं भित्रिने गथ्र्याे । काठमाडौंमा ठूलो परिणाममा अत्यन्तै उब्जाउ खेतीयोग्य जमिन पनि थियो । राजा हुनुअघि नै मकवानपुर ससुरालीबाट र्फकंदा चन्द्रागिरि डाँडाबाट काठमाडांै उपत्यकाका तीनै सहर देख्नासाथ त्यहाँको राजा हुने निर्णय उनले गरे । सोहीबमोजिम काठमाडौं वरिपरिका ठाउँहरू २५ वर्ष लगाएर जिती अन्तमा सन् १७६९ को इन्द्रजात्राका दिन काठमाडांैको वसन्तपुरस्थित राजगद्धीमा बस्न पुगे ।
एकीकरणका लडाइँहरूमा उनी स्वयं आफ्ना सहोदर भाइहरूलाई लिएर सामेल हुन्थे । नुवाकोट र कीर्तिपुरमा एकैपटक विजय नभए पनि उनले हार मानेनन् । पहिलो अभियानमा उनका होनहार काजी कालु पाण्डे मारिए भने दोस्रो अभियानमा आफ्ना सहोदर भाइ सूरप्रतापको आँखा फुट्यो । उनको तेस्रो अभियानमा कीर्तिपुर गोरखाको कब्जामा आयो ।
त्यसैगरी काठमाडांै विजय भएको ५ वर्षभित्र उनकै जीवनकालमा पूर्वको विजय सम्पन्न भयो । काठमाडौंपूर्व मधेस भन्ने कुनै ठाउँको नाम वा राज्य थिएन । आजको नेपालको तराईमा केही आदिवासी थारूहरूको बस्तीबाहेक जागल र औलौबाहेक केही थिएन । त्यसैगरी लिम्बूवान वा कोचिला भन्नेजस्ता कुनै राज्य त्यहाँ पाइन्न । मकवानपुरे सेन राजाको कमला नदीवारिको जागल समथल तराई र माथि पहाड मकवानपुर राज्य विजय गर्नासाथ नेपाल राज्यको भूभाग बन्न गयो । त्यस्तै अर्को सेन राज्य चौदण्डी जुन कमला नदी, कोसीसम्म पहाडदेखि तराईसम्म फैलिएको थियो र त्यसमाथि विजय हासिल हुनासाथ त्यो सम्पूर्ण भूभाग नेपाल राज्यको भूभाग बन्यो । कोसीपूर्व टिष्टा पश्चिमको अर्का सेन राजा भएको विजयपुर नेपाल राज्यमा गाभियो । त्यो सँगै सिक्किम राज्यको केही पहाडी भूभाग दार्जिलिङ, कालेम्पोङ, खर्साङ आदि समेत नेपाल राज्यमा मिलाइएको थियो ।
शाहले एकीकरणका दौरानमा मकवानपुर राज्यलाई सहयोग गर्न आएको तत्कालीन बंगालका नबाब मिर कासिमको र काठमाडौंलाई सहयोग गर्न आएको क्याप्टन किनलोकको ठूलो फौजलाई नराम्रोसँग परास्त गरी ठूलो मात्रामा हातहतियार प्राप्त गरेका थिए । यसरी दक्षिणले चाहेर पनि गोरखाली फौजविरुद्ध युद्ध गर्न सकेको थिएन र यसबाट उसको मान, सम्मान पूरै भारत वर्षलगायत तिब्बत, चीनसम्म फैलिएको थियो ।
गोरखा पश्चिमको एकीकरण भने पृथ्वीनारायण शाहले आफ्नो जीवनकालमा गर्न सकेनन् र त्यसलाई पूर्णता दिने काम मूलतः उनका नाति बालक राजा रणबहादुर शाहको रिजेन्ट भएर रहेका उनका कान्छा छोरा बहादुर शाहले सम्पन्न गरेको पाइन्छ । यसरी भूभागलाई मात्र हेर्दा नेपाल एकीकरणको एक तिहाई भाग पृथ्वीनारायण शाहको पालामा र दुई तिहाई भाग बहादुर शाहले गरेको देखिन्छ । हामीलाई आश्चर्य र असम्भव लाग्ला २० वर्षको कलिलो जवानीमा रिजन्ट भएका बहादुर शाहले शासन आफ्नो हातमा आएपछि आनन्द र सुखसयलतर्फ आफूलाई विल्कुलै नभुलाई तुरुन्तै आफ्ना पिताले सम्पन्न गर्न नभ्याएको पश्चिम विजय यात्रालाई अघि बढाए र चरम दरबारिया षड्यन्त्रका कारण २९ वर्षकै कलिलो उमेरमा मारिनुअघि त्यति ठूलो नेपालमा जोडे ।
गोरखाजस्तो सानो र आर्थिक रूपमा त्यति सबल नभएको राज्यले त्यो बेलामा कसरी नेपाललाई एकीकरण गर्यो होला ? इतिहासकारहरूले यो कार्यलाई आश्चर्यमात्र नमानी चमत्कार मानेका छन् । गोरखाको अर्थतन्त्र सम्पूर्णरूपमा खेतीमा आधारित थियो र सानो जनसंख्या -जम्मा १२००० धुरी) भएका कारण लडाइँमा जान सक्ने जनशक्तिको ठूलो अभाव गोरखासँग थियो । त्यसैगरी हतियारको ठूलो अभाव थियो । राजा भएकै वर्ष १७४३ मा उनले बनारस यात्राबाट केही हतियारको बन्दोबस्त गरे पनि त्यो पर्याप्त थिएन । बन्दुकको त कुरा छाडौं खुकुरी बनाउने स्टिलको समेत ठूलो अभाव थियो । यी अप्ठ्याराका बीच पनि जनशक्ति र केही हतियारको जोरजाम गरेपछि सेनालाई लगातार चाहिने ठूलो मात्रामा खानेकुरा र रसदपानी पुर्याउने गम्भीर आर्थिक अभावका बीच आफूभन्दा धेरै शक्तिशाली ठूलाठूला राज्यलाई जितेर नेपाललाई एउटा देश बनाउने विश्व इतिहासमा विरलै देखिएको करिबकरिब असम्भव सपना पृथ्वीनारायण शाहले देखे र त्यसलाई साकारसमेत पारे । त्यसैले उनलाई नेपाली इतिहासमा राष्ट्रिय एकताका प्रतीक भनिएको हो ।
नेतृत्व र दूरदर्शिता
किन गोरखाले नेपाल एकीकरण गर्यो भन्दा त्यहाँको नेतृत्व र त्यसले जनताको बीच बाँडेको ठूलो र सम्पन्न राष्ट्रको चित्र सबैभन्दा महत्त्वपूर्ण रहेको मानिन्छ । लडाइँ गरिरहेको सेना र त्यसलाई रसदपानी दिइरहेको किसानको सहयोगबिना पृथ्वीनारायण शाहको सपना र दूरदृष्टि सफल हुनसक्ने थिएन । उनले देखाएको भविष्यको सपनालाई यथार्थमा परिणत गर्ने व्यावहारिक उपायसमेत उनीसँग थिए । यसरी आफ्ना जनतालाई आफ्नो योजनामा जीवन उत्सर्ग गर्न तयार हुने स्थितिमा पुर्याउने पृथ्वीनारायण शाहको नेतृत्व क्षमता नेपाल एकीकरण अभियानको सबैभन्दा ठूलो पुँजी थियो भन्ने इतिहासकारको निचोड छ । बारम्बार युद्ध हुँदा पनि आफ्नो सेनाभित्र निराशा पैदा हुन नदिनु र २५ वर्ष लगाएर काठमाडांै जितेरै छाड्नु भनेको कुनै मामुली धैर्य, सौर्य र दूरदृष्टिबाट सम्भव हुने कुरा थिएन । राज्यले बारम्बार युद्धमा पठाउने कामबाहेक खासै केही दिन नसकेको त्यो बेलाको आफ्नो सेनालाई निश्चित उद्देश्यका लागि प्रतिबद्ध बनाईराख्न सक्नु नेतृत्वको ठूलो क्षमता हो जुन पृथ्वीनारायण शाहमा भएकै कारण नेपाल राष्ट्र निर्माण हुन सकेको देखिन्छ ।
शाह आफ्नो समयका विलक्षण दूरदर्शी र कठोर राष्ट्रवादी थिए भन्ने कुरा एकीकरण अभियानमा आफूलाई ज्यान हत्केलामा राखेर एकीकरण अभियानमा साथदिने भाइहरूले माग गरेको राज्य बटबाराको प्रस्तावलाई ठाडै अस्वीकार गरेकोबाट पनि प्रस्ट हुन्छ । आफ्नै परिवारभित्र राज्य वा शासन क्षेत्र विभाजित गर्दा राष्ट्र कसरी विखण्डन हुन्छ भन्ने कुरा नेपालकै उनी अघिको इतिहासबाट पृथ्वीनारायण शाहले देखिसकेका थिए । जस्तो एक समयमा नेपालको ठूलो पाल्पादेखि पूर्व मोरङसम्मको भूभागसम्म फैलिएको सेन राज्यलाई विसं १५७५ देखि १६१० सम्म शासन गरेका मुकुन्द सेन प्रथमले आफ्ना छोरा, भाइभतिजाहरूका बीचमा विभाजन गरेका थिए भने सन् १४८१ सम्म राजा यक्ष मल्लको निधन नहुँदासम्म एउटै रहेको काठमाडौं उपत्यका त्यसपछि आफ्नै परिवारभित्र विभाजित हुँदै गएको थियो । यसैलाई देखेर हुनुपर्छ पृथ्वीनारायण शाहले आफ्ना भाइको इच्छापूर्तितिर नलागी नेपाल आफू र आफ्नो परिवारको मात्र पेवा होइन, सबै नेपालीको फूलबारी हो भनेर तत्कालीन राजाहरूको प्रचलनविपरीत राष्ट्रवादी सान्देश दिएको पाइन्छ ।
दिव्य उपदेश
काठमाडांै उपत्यका जितेको मात्र ६ वर्षपछि नुवाकोटमा लामो रोग लागी उनको मृत्यु भयो । त्यति कठोर परिश्रम गरेर एक गरेको नेपालको थिति बसाल्न धेरै काम गर्ने इच्छा उनमा हुँदाहुँदै पनि अब त्यो सम्भव छैन भन्ने बुझी नोभेम्बर १७७४ मा आफ्ना नजिकका भाइभारदारबीचमा उनले आफूले गरेको काम र नेपालबारेको योजना र सपना सबैसामु राखे । बडो इमानदारीपूर्वक आफ्ना भाइभारदार पाण्डे, बस्नेत, गुरुङ, मगर सबैले गरेको सहयोग र योगदानबाट यो मुलुक निर्माण भएको त्यहाँ उनले चर्चा गरेका छन् ।
दिव्य उपदेश नेपाल एकीकरणको सिद्धान्त, यसको व्यावहारिक प्रयोग, नेपालको राष्ट्रियताका आधार केके हुन्, किन यो सच्चा अर्थमा हिन्दुहरूको भूमि हो, यसको आर्थिक एवं परराष्ट्र नीति के हुनुपर्छ भन्नेबाहेक नेपाली राजनीतिमा अनिवार्य चाहिएका नैतिक मूल्यमान्यताबारेका कुराले भरिएको अमर सन्देशयुक्त कृति छ । नेपालको भूराजनीतिक अवस्थाबारे एक लाइनमा उनले भनेको कुरा आज पनि सत्य साबित भइरहेको छ । उनकै शब्दमा 'यो राजे दुई ढंुगाको तरुल जस्तो रहेछ ।' त्यसैगरी जनताले न्याय पाउनुपर्छ र त्यो बिगार्ने भनेका 'घुस् दिन्या र घुस् खान्या ईन दुईको ता धन जिव गरिलियाको पनि पाप छैन' भन्ने उनको विश्लेषण हाम्रो सन्दर्भमा समेत उत्तिकै यथार्थ र मननीय छ ।
त्यहीबेला पृथ्वीनारायण शाहले शासन सञ्चालनमा प्रजातान्त्रिक संस्कारको प्रवेश गराइसकेको देखिन्छ । काजी छनोटमा उनको इच्छा विराजे बखतेलाई बनाउने भए पनि दुनियाँ र बाइसी चौबिसीले पनि कालु पाण्डे भनेकाले कालु पाण्डेलाई नै काजी बनाया भन्ने दिव्य उपदेशमा उल्लेख छ । पाँचवटा पुस्तकमा 'पृथ्वीनारायण शाहको उपदेश' लेख्ने नेपालका मूर्धन्य विद्वान् इतिहासकार पं नयराज पन्तले 'नेपाललाई स्वतन्त्र राष्ट्रका रूपमा खडा गराई उत्तरदक्षिण दुवैको दबाबबाट बचाईराख्न विचार गरिएको जुक्ति यो उपदेशको सार हो भन्ने कुरा मैले सम्झेको छु' भनेबाटै यसको नेपाल र नेपालीका लागि कति उपादेयता र महत्त्व छ प्रस्ट हुन्छ ।
आजको अवस्था
दुर्भाग्य नै हो, यस्ता महान् सपूत हाम्रा राष्ट्रनिर्माता हुँदाहुँदै उनको उचित सम्मानको बदला घृणा र दुव्र्यवहार गर्न हामी पछि परेका छैनौं । नेपाल जन्माउने व्यक्तिप्रतिको हाम्रो यस्तो व्यवहारकै कारण हामी स्वयं हाम्रो अखण्ड र एकीकृत अस्तित्वमाथि प्रहार गरिरहेका छौं । पृथ्वीनारायण शाहलाई राष्ट्रिय एकताका प्रतीक नमान्नु वा ढुंगा हान्नुको सीधा अर्थ नेपाललाई एउटा राष्ट्र बनाएर उनले अपराध गरे भन्नु हो । यसले आफ्नो जातीय माग पूरा नभए नेपाल टुक्रयाइने छ भन्नेहरूको मनोबल बढेको छ । आफू स्वयं सानो गोरखा राज्यको राजा भएर आफूभन्दा ठूलठूला राज्य जित्दै तिनीहरूलाई आफूसँग मिलाएर राख्न सक्नु भनेको विस्तारवादी सोच र शैलीबाट सम्भव हुँदैन । जबरजस्ती कुनै पनि राज्यलाई लामो समयसम्म आफूसँग राख्न सकिन्न । त्यतिबेलाको टुक्राटुक्रामा रहेका नेपाली राज्यका जनताको भावना जितेर, उनीहरूको धर्म, संस्कृति र जीवनपद्धतिलाई स्वीकार र सम्मान गर्दै जितेका स्थानमा मजबुत कानुन व्यवस्था कायम गर्दै यो नेपाल भन्ने राष्ट्र जन्माएको पाइन्छ तर आज दुर्भाग्य हामी आफ्नो मुद्रामा सहमतिबाट एउटा कुनै महान् नेपालीको फोटो राख्नसमेत नसक्ने अवस्थामा पुगेका छौं ।
लेखक अधिवक्ता हुन् ।
ekantipur.com