प्रवासी प्रतिभाको प्रयोग
अनिल पाण्डे
मैले मुलुकबाट के पाएँ होइन मबाट मुलुकले के पायो भनेर सोचु यो भनाइ यस लेखकको होइन । तर जब म मुलुकलाई सम्झन्छु लामो समयदेखि अमेरिकामा बस्दै आएको सम्झना हुन्छ र मुलुकलाई मैले जे-जति योगदान दिनुपर्ने हो र दिनसक्ने सम्भावना थियो त्यो गर्न सकिनँ कि भनेर गम्भीर बन्न मन लाग्छ । राजनीति कला मनाराजनका क्षेत्रबाट सामाजिक सेवा गर्ने सम्भाबना थियो त्यो काम प्रवासी बनेका कारण पूरा हुन नसकेकोको त होइन म आफैलाई प्रश्न गरिरहेको हुन्छु । त्यसैले मुलुकको सेवाका लागि यहाँबाट गर्नसक्ने कुनै काम गर्न पाउँदा मलाई अत्यन्त प्रसन्नताको अनुभूति हुन्छ ।
प्रवासतिर लाग्नेहरुबीच एक समानता छ । मुलुक छोडेर बाहिर जाने कुनै पनि नेपाली बेकम्मा छैन । कुनै न कुनै प्रकारको प्रतिभा बोकेर नै ऊ बाहिरिएको हुन्छ । एक दशक लामो द्वन्द्वका समयमा त कुनै पनि उपायले देश छोड्ने र ज्यान जोगाउने लहर नै चल्यो । हिजोका विद्रोही माओवादीहरु सत्तामा पुगेर संस्थापन पक्ष बनिसकेको अवस्थामा ज्यानको जोखिम टरेको छ तर प्रतिभा पलायनको लहर रोकिएको छैन । डा। बाबुराम भट्टराईको नयाँ बजेटले पनि प्रवासी प्रतिभाको प्रयोग गर्ने मानसिकता देखाउन सकेन । उनले पछिल्लो पटक बिबिसी नेपाली सेवासँग कुराकानी गर्दै पूर्व-पश्चिम रेलमार्ग काठमाडौं-हेटौंडा जोड्ने सुरङ मार्गजस्ता विकासका सयौं परियोजना सुरु हुने र विदेश गएका प्रतिभा स्वतः आकर्षित हुने दावी गरेका छन् तर उनले भनेझैं प्रतिभाहरु फर्किहाल्न भने सहज देिखंदैन । मुलुकमा केही हदसम्म भौतिक शान्ति छाएपनि मानसिक शान्तिको आगमन भएको छैन । नयाँ नेपालको परिकल्पना साकार पार्न चाहिने एकतापूर्ण उर्जा जुट्न सकिरहेको छैन । शान्तिले दीर्घकालिक स्वरुप प्रकट गर्न पाएको देिखंदैन ।
त्यसो त हाम्रो गाउँ राम्रो गाउँ नयाँ नेपाल स्वस्थ नेपाल अक्षर चिनौं सभ्य बनौंआदि अभियानका साथ आएको पैसठ्ठी-सैसठ्ठी सालको बजेटले शान्तिलाई बेवास्ता गरेको छैन । द्वन्द्वपीडित सहिद परिवारलाई छुट्याइएको बजेटका हरफहरुले शान्तिकै कामना गरिरहेको देखिन्छ । शिक्षामा ३८ अर्ब र स्वास्थ्यमा १५ अर्बको विनियोजनले पनि शान्तिलाई नै सघाउन सक्छ । २३६ अर्व रुपियाँको बजेटले पलायन भएका प्रतिभालाई आकर्षक विकल्प दिन र पूँजी विस्तार गर्न जसरी व्यापक दृष्टिकोण राख्नुपर्ने थियो त्यो हुन सकेको छैन । यस दिशामा ध्यान दिइएको भए ुउद्देश्य के लिनु उडी छुनु चन्द्र एकु को मानसिकता बोकेको बजेटले चन्द्रमाभन्दा निकै नजिकका नेपालीलाई बिस्रने थिएन । उनीहरुसँग प्रतिभा र पूँजी दुवै छ उनीहरु महत्वाकांक्षी बजेटका पूरक शक्ति हुनसक्छन् भन्ने यथार्थ मनन गर्ने थियो ।
शरीरको कुनै अंगमा लागेको घाउ निको पार्न अबको युगमा घाउ नै पहिलाएर सिवाजलको धुलो छर्किनु पर्दैन सद्देजस्तो लाग्ने पाखुरामा सुई रोपे पनि हुन्छ । अझ यो विधि सरल पनि हुन्छ । मुलुकमा शान्ति कायम गर्नु आजको पहिलो आवश्यकता हो । तर शान्तिका लागि शान्ति होइन विकास र समृद्धिका लागि शान्ति कायम गर्न सकियो भने यो चिरस्थायी हुनसक्छ । विगत केही वर्षदेखि सरकार शान्ति तथा पुनर्निमार्ण मन्त्रालय नै गठन गरेर लागिपरेको छ । यो स्वागतयोग्य कार्य हो । तर यो घाउ पहिलाएर सिबाजल छर्किने प्रकृतिको कार्य भयो । घाउलाई चारैतिरबाट सुकाउँदै ल्याउने होभने आर्थिक सामाजिक राजनीतिक प्राविधिक हरेक पक्षबाट यसको उपचार हुनुपर्छ । यस्तै उपचार हुनुपर्ने पक्ष हो प्रवासमा छरिएर रहेको नेपालीको मन । शान्तिका लागि स्वदेश-विदेश भित्र-बाहिर भौतिक-मानसिक सबै पक्षमा एकसाथ प्रयास हुनुपर्छ । शान्ति अभियान एक्लो कुनै मन्त्रालय वा संस्थाबाट मात्र पूरा हुनसक्ने विषय होइन । यो सहकार्य र एकतापूर्ण अभियानका माध्यमले मात्र पूरा हुनसक्ने व्यापक प्रभावको पक्ष हो । त्यसैले सरकारका तर्फबाट यसको समायोजन र नेतृत्वका लागि संगठित संस्था खडा हुनु स्वागतको विषय हो ।
तर दुखका साथ भन्नुपर्छ शान्ति मन्त्रालयले शान्तिका लागि योगदान दिने संकेत देखाउन सकिरहेको छैन । माओवादी सरकारमा आएपछि यसक्षेत्रमा लहर आउने सपना पालेर बसेका जनतालाई केही सुखद् लक्षणहरु देखाइदिने समय गुजि्रन लागिसकेको छ । साँचो अर्थमा शान्ति मन्त्रालय जहाँ शान्तिको सबैभन्दा बढी आवश्यकता छ त्यहाँ पुग्न सकेकै छैन । यसले प्रवासमा रहेका नेपालीका मनदेखि मुलुकभित्रै रहेका दुर्गम गाउँ र वस्तीका घाउसम्म मलम लगाउन तत्पर हुनुपर्छ । स्थानीय स्तरसम्म शान्ति पुर् याउनका लागि शान्ति मन्त्रालयका तर्फबाट भएका गतिविधि के हुन् भनेर खोज्ने हो भने ३२ जिल्लामा गठन भएको शान्ति समिति मात्र देखापर्दछ । एक-दुई जिल्ला शान्ति समितिले एक-आध गतिविधि गरेतापनि प्रायः सबै बैठकसम्म साचालन नगरी बसेका छन् ।
सरकारले सफलता चाहने होभने महत्वाकांक्षी बजेट र नीति तथा कार्यक्रममा प्रवासी नेपालीको पाटोलाई थप गर्न ढिलाइ गर्नुहुन्न । यस समूहसँग सीप क्षमता ज्ञान र पूँजी सबै छ । कुनै अक्षम नेपालीले नेपाल छोडेर बाहिर गएको एउटा मात्र उदाहरण पाउन सकिन्न । किनभने क्षमताहीन कुनै पनि व्यक्ति मुलुक त के घर छोडेर बाहिर निस्कन पनि डराउँछ । प्रवासी नेपाली भनेको निडरहरुको जमात हो । करिव २५ लाखको परिमाणमा नेपाली आजको मितिमा प्रवासी बनेको अनुमान छ । यस आधारमा सरकारले हरेक कार्यक्रममा यो समूहलाई सम्बोधन गर्न छुटाउनु भनेको आफ्नै असफलता निम्त्याउनु मात्र हो ।
आज माओवादीको नेतृत्वमा गठन भएको सरकारसँग जनताले अवश्य नै ठूलो अपेक्षा गरेका पनि छन् । यो लेखक पनि वर्तमान सरकार सफल हुनैपर्छ भन्ने मान्यता राख्दछ । त्यसैले अभियानका रुपमा सरकाले प्रवासी नेपालीलाई परिचालन गर्ने कार्यक्रमको घोषणा गर्नुपर्छ । के कार्यक्रम हुनसक्छ कुन रणनीति अपनाउन सकिन्छ भन्ने विषयमा बसेर छलफल चलाउन सकिन्छ ।
समयमै चेतना होस् !