बाइबाइ अमेरिका
अमेरिका जान मरिहत्ते गर्नेहरूका बारेमा जति चर्चा हुन्छ फर्केर आउनेहरूका बारेमा त्यति हुँदैन। तर त्यहाँ काम गर्न नसक्ने, मन नपर्ने, नेपालमै अवसर र वातावरण पाउने वा अरू कुनै कारणले फर्किनेहरूका कुरा सुनेपछि लाग्छ– अमेरिका भनिए जति आकर्षक चाहिँ रहेनछ!
• डम्बरकृष्ण श्रेष्ठ
०६० सालमा अमेरिका पुगेका त्रिभुवन विश्वविद्यालयका उप–प्राध्यापक शशि उपाध्याय (४८) एक वर्षअघि नेपाल फर्किए। त्यहाँ गएर पढुँला, काम गरुँला र सुखसाथ जीवन बिताउँला भन्ने सोचेका उपाध्यायको अमेरिका मोह तीन वर्षमै यसरी मर्यो, अब त्यहाँ जाने कल्पना पनि गर्न सक्दैनन्। उनी भन्छन्, “मासिक पाँच हजार डलर, पूरै परिवारलाई ग्रीनकार्ड दिए पनि जान्नँ।”
मुलुकको अनिश्चितता र बेरोजगारी, अमेरिकामा हुने राम्रो कमाइको लोभले 'देशले हुत्याएको र परदेशले तानिरहेको' ठानेर नाम कमाएका मानिसहरू पनि विदेशिने क्रम बढेको छ। बर्सेनि डीभी चिट्ठा भर्ने र भीसा तथा अन्य प्रयोजनका लागि केही लाख रुपैयाँ खर्च समेत गरेर अमेरिका जान मरिहत्ते गर्नेहरू प्रशस्तै छन्। तर उपाध्यायलाई किन अमेरिका मन परेन त? उनी भन्छन्, “तीन वर्ष त्यहाँ बस्दा एकदिन पनि खुशीको अनुभव गरिनँ। अमेरिकामा मासिक दुईहजार डलर कमाउँदा भन्दा यहाँको थोरै कमाइबाटै सन्तुष्ट छु।”
उपाध्यायले अमेरिकामा आफ्नोपन र पारिवारिक वातावरण पाएनन्। बहुतै पेलिएर काम गर्नुपर्यो। थोरै मात्र नेपाली खुशीसाथ बसेका छन्, धेरैले ठूलो दुःख खेपिरहेका छन्त्यहाँ भन्ने बुझाइ छ उनको। त्रिविमा २४ वर्षदेखि प्राध्यापन गर्दै आएका उपाध्याय यति विरक्तिएका छन् कि आफ्ना छोरा–छोरीलाई समेत अमेरिका पठाउन चाहँदैनन्। उनले हिमाल सँग भने “छोरा–छोरीलाई नजाऊ भन्छु, जान कर गरे भने 'अमेरिकी दूतावासलाई भीसा नदिनू' भन्ने म पहिलो बाबु हुनेछु।” श्रीमानसँग एक वर्ष अमेरिका बसेर फर्किएकी अनिता उपाध्याय भन्छिन्, “त्यहाँको अवस्था देख्दा मलाई अमेरिकामा बस्ने केटो भनेर छोरी पनि दिनुहुन्न भन्ने लाग्यो।”
फर्कनेहरूको सूची लामो छ। ३० वर्षदेखि सरकारी सेवामा रहेका काठमाडौँ, शंखमुलका दीपक अधिकारी (५०) डीभी चिट्ठा परेर ३१ असोज २०६३ मा अमेरिका पुगेका थिए, तर चार महिना पनि टिकेनन्। 'अब कहिल्यै अमेरिका जान्न' भन्ने उनले तीन महिना पनि बडो दुःखले कटाएका थिए। न्यूयोर्कमा एक कार्गो अफिसको सामान घर–घरमा पुर्याउनुपर्ने काम पाँच दिनमै छाडे। त्यसपछि घण्टाको ६ डलर पाउने एक हार्डवेयर स्टोरको काम पनि पाँच दिन भन्दा बढी गर्न सकेनन्। दिनरात नभनी काम गर्नुपर्ने, एकछिन् आराम गर्दा पनि पैसा काट्ने भएपछि यस्तो पेलाइमा परेर बस्न सकिन्न भन्ने उनलाई लाग्यो। अङ्ग्रेजी त्यति नजान्ने र धेरै नपढेकोले पनि सास्ती खेप्नु परेको उनको बुझाइ छ।
आफूले भेटेका डेढ सय नेपालीमध्ये चार–पाँच जना मात्र सन्तुष्ट रहेका बताउँदै अधिकारीले भने, “वर्षौँदेखि बसेर मै हुँ भन्नेहरू पनि त्यहाँ पिसिएका र धेरै पछुताएका छन्।” नेपाल फर्केर अहिले खरिदारको आफ्नो पुरानै जागिरमा सन्तुष्ट अधिकारी भन्छन्, “अमेरिकाबाट फर्कन पाउँदा दलदलबाट फुत्केजस्तै भयो मलाई!” ग्रीनकार्ड पाइसकेकी काठमाडौँ, गौशालाकी सुशीला उपाध्याय (६०) पनि विरक्तिएर फर्केकी छन्। अमेरिकाका बारेमा कुरा हुँदा उनी यतिसम्म भन्छिन्, “त्यस्तो मोरो ठाउँमा कहिल्यै जान्नँ।”
२ असारमा श्रीमतीका साथ काठमाडौँ आइपुगेका वीरगञ्जका जनक शर्मा (६१) अमेरिकामा बस्न नसकेर पुगेको तीन महिनामै फर्किएका हुन्। सात वर्षदेखि टेक्सासमा बसेका छोरा–बुहारीले बोलाएर पाँच वर्षको मल्टिपल भीसामा अमेरिका पुगेका शर्मा दम्पतीले त्यहाँ आफूहरूलाई गहिरो कुवामा कतै उम्कन नपाउने गरी फँसेको जस्तो पाए। तीन महिना जसोतसो बसेपछि छोरालाई 'नेपाल फर्काइनस् भने हामी यहाँ पागल हुन्छौँ' सम्म भन्नुपर्यो।
मैतीदेवीका ८० वर्षीय दामोदर अर्याललाई नेपालमै मर्ने अन्तिम इच्छाले अमेरिकामा बस्न दिएन। ३० वर्षदेखि त्यहाँ बसेको छोराले बोलाएर १० माघ २०६३ मा श्रीमती नानुमैयाका साथ त्यहाँ पुगेका उनी एक वर्षमै फर्किए। अमेरिकाको संस्कार राम्रो नलागेको र पशुपतिनाथमै आफ्नो देहत्याग गर्ने इच्छा भएकोले उनीहरू नेपाल फर्किएका हुन्।
तन्नेरी पनि
शशि र अनिता, दीपक, जनक, दामोदर र सुशीलाजस्ता ४० वर्ष नाघेकाहरूको कुरा गर्दा अमेरिकाको वातावरणमा घुलमिल हुन तथा काम गर्न नसक्ने वयस्कहरू मात्र फर्किरहेका होलान् जस्तो लाग्न सक्छ। तर तिनमा नेपालमै केही गर्ने उद्देश्य लिएर 'अमेरिका मोह' त्याग्ने क्षमतावान् नयाँ पुस्ताका तन्नेरीहरू पनि थुप्रै छन्।
६ वर्षअघि अमेरिका गएर इलेक्ट्रिकल इञ्जिनियरिङ गरी उतै कम्प्युटर ल्याव, आईटी, सफ्टवेयर कम्पनीमा राम्रो कमाइ हुने काम गरिरहेका सफ्टवेयर आर्किटेक्ट निरज गोर्खाली (२७) डेढ वर्षदेखि नेपालमै छन्। एक महिना घरपरिवारसँग बसेर अमेरिकै जाने विचारले आएका लाजिम्पाट, काठमाडौँका निरजलाई आफूले उता सिकेको ज्ञान र सीपबाट नेपालमै केही गर्न सकिन्छ भन्ने लाग्यो। अहिले उनी काठमाडौँमै बसेर वेभ एप्लिकेशन र प्रोसेस म्यानेजमेन्ट आदि काम गर्ने 'नेर्पोट्याक' नामक कार्यालय चलाइरहेका छन्। आफ्ना आठ सहयोगीका साथ काठमाडौँमा रमाइरहेका निरज अमेरिकाका चार वटा कम्पनीको कम्प्युटर प्रोसेस म्यानेजमेन्टको काम गरिरहेका छन्। निरज भन्छन्, “काम राम्रै भइरहेको छ, डेढ वर्षको यो बसाइमा अमेरिका फर्कने मन बदलिएको छ।”
अमेरिका र नेपालमा रहेका निरजका साथी र आफन्तहरू उनलाई बारम्बार 'किन अमेरिका नफर्किएको?' भनेर सोध्छन्। उनका साथीहरू अमेरिकामा बीएमडब्ल्यु कार चढेर हिँड्छन् र मासिक केही हजार डलर कमाइ हुने जागिर खान्छन्। तर यसले निरजलाई केही फरक पारेको छैन। उनी भन्छन्, “यहाँ परिवारको साथ छ र क्षमता अनुसारको काम पाएको छु। त्यसैले छाडेँ उता जाने सोचाइ।”
१० वर्ष अमेरिकामा बिताएकी युको मास्के पनि नेपाल फर्किन्। डेढ वर्षअघि नेपालमा बस्न सकिएला कि नसकिएला भन्ने द्विविधा लिएर आएकी युकोले ललितपुरमा बाबु–आमासँग केही समय बिताएपछि अमेरिकालाई 'गुडबाइ' गर्ने निर्णय लिएकी हुन्। उनी भन्छिन्, “नौ महिना नेपालमा बिताउँदा म अमेरिकी जीवनशैली छाडेर यहीँ बस्न सक्छु भन्ने लाग्यो र बीचमा एकपटक उता गएर गाडी, सर–सामान सबै बेचेर आएँ।” अङ्ग्रेजी साहित्य पढेर त्यहाँका स्थानीय पत्र–पत्रिकामा सम्पादन–लेखनको काम गरिरहेकी युको भन्छिन्, “नेपालीहरूको अमेरिकाप्रतिको ठूलो आकर्षणले होला म यतै बस्न आएको भन्दा हत्तपत्त पत्याउँदैनन्।” उनलाई यहाँका भावनात्मक सम्बन्ध, धार्मिक–सांस्कृतिक एकता र परिवारको मायाले तान्यो, जुन अमेरिकामा पाउन गाह्रो छ। त्यसमाथि पत्रकार भएकाले नेपालको बदलिँदो राजनीतिक परिवर्तनले पनि छाडेन। उनी भन्छिन्, “नेपालको इतिहास परिवर्तनका घटनाक्रमलाई आफैँले प्रत्यक्ष देख्न पाउनुको आनन्द अर्कै हुन्छ नि!”
द हिमालयन टाइम्स अङ्ग्रेजी दैनिकका फोटोपत्रकार उदिप्त सिंह क्षेत्री (३३) पनि अमेरिकामा राम्रा अवसरहरू पाउँदापाउँदै नेपाल फर्किए। ९ वर्षअघि विजनेश म्यानेजमेन्ट पढ्न अमेरिका गएका उनी कम्प्युटर इन्फर्मेशन सिस्टम र फोटोग्राफीको अध्ययन सकेर चार वर्ष भयो नेपाल फर्किएका। उता पढ्दै काम गर्दा खेप्नुसम्म दुःख खेपेका, साथीसँग मिलेर ग्यास स्टोर समेत चलाएकाक्षेत्री भन्छन्, “पढाइसकेपछि केही समय काम गरेर आफूलाई चाहिने क्यामरा र त्यसका सामानहरू जुटाएँ। अनि केही गर्ने अठोटका साथ फर्किएँ।” फर्कनासाथ पत्रिकामा काम पाएका उदिप्तले नेपालमा खेलकुद फोटोग्राफरका रूपमा पहिचान बनाएका छन्। उनी भन्छन्, “यहाँ आफ्नै घरपरिवारका साथमा छु, मिडियामा काम गरिरहेको छु, म सन्तुष्ट छु।”
नेपाल टेलिभिजनको सङ्घर्ष कार्यक्रमकी सञ्चालक आरती चटौतलाई डेढ वर्षअघि अमेरिका पुग्दा धेरै आफन्त भएकाले उतै बस्न सकिन्छ भन्ने लागेको थियो। तर, त्यहाँ चित्त नबुझेकोले चार महिनामै फर्किइन्। उनी भन्छिन्, “सबै चिज छ अमेरिकामा, तर आफ्नो पहिचान छैन। मैले मेरो आवश्यकता त्यहाँ भन्दा यहीँ देखेँ। नयाँ कुरा सिक्न, बुझ्न, पढ्न, तालिमहरू लिन जानु त ठीकै हो तर गएर उतै बस्ने ठाउँजस्तो चाहिँ लागेन अमेरिका!”
अमेरिकामा चार वर्ष बिताएर डेढ वर्षअघि फर्किएकी नयनतारा गुरुङ कक्षपतीको चाहना नेपालमै केही गर्ने छ। इण्टरनेशनल रिलेशन्स्मा स्नातकोत्तर नयनताराले त्यहाँ डकुमेण्ट्री निर्माण र फोटोग्राफीको प्रशिक्षण पनि लिएकी थिइन्। उतै काम गरेर बस्न सकिने अवसरहरू छाड्दै नेपाल फर्कनुको कारण बारे उनी भन्छिन्, “अमेरिकामा फ्रिडम भए पनि म सधैँ एक्लोपन महसूस गर्थेँ। यहाँ आफ्नो परिवारसँगै हुँदा जसरी दुःख–सुख बाँड्न सकिन्छ, त्यहाँ त्यस्तो हुँदैन।” आफ्नो अध्ययनको अनुभवलार्ई अहिले फोटो पत्रकारितामा उपयोग गरिरहेकी नयनतारा साथीहरूसँग मिलेर वाई पत्रिका चलाउँछिन् र 'फोटो सर्कल' भन्ने संस्था स्थापना गरेर फोटो पत्रकारिताको अध्ययन र प्रशिक्षणमा केही गर्ने काममा लागेकी छन्।
बढ्दैछ सङ्ख्या
अमेरिकाप्रति मोह भङ्ग भएर, त्यहाँ बस्न, काम गर्न नसकेर या त्यहाँको अध्ययन र सीपलाई नेपालमै उपयोग गर्ने चाहना राखेर फर्कनेहरूको सङ्ख्या बढ्दै गएपनि यताबाट जानेहरूको तुलनामा भने कमै छ। डीभी चिट्ठा परेर र अध्ययन गर्ने उद्देश्य लिएर बर्सेनि हजारौँ नेपाली अमेरिका पुग्छन्। शिक्षा मन्त्रालय, छात्रवृत्ति शाखाको तथ्याङ्क अनुसार २०६३/२०६४ को पछिल्लो १० महिनामा मात्र ३५ सय जति विद्यार्थी अमेरिका पढ्न गएका छन्। नेपालमा प्लस टु र स्नातक गरेर पूरा छात्रवृत्ति विना अमेरिका जाने विद्यार्थीले बढी नै सङ्घर्ष गर्नुपर्छ। प्राध्यापक शशि उपाध्याय त स्नातकोत्तर नगरी पढ्न अमेरिका नगए हुन्छ भन्छन्। उनको भनाइमा, खर्च जुटाउन नसक्दा चार वर्षको पढाइ पूरा गर्न सात–आठ वर्षसम्म लाग्छ र कतिले बीचमै पढाइ छाड्छन्।
डीभी पर्ने र पढ्न जाने हुन् वा अरू कुनै तरिकाले अमेरिका पुग्ने, तीमध्ये नेपाल फर्कने इच्छा हुँदाहुँदै पनि नसक्ने थुप्रै छन्। नेपालमा परिवारको अपेक्षा पूरा गर्ने र जाँदा गरेको खर्च उठाउने चाहनाले धेरै नेपाली अमेरिकामै दुःख गरिरहेका हुन्छन्। निरज भन्छन्, “त्यत्तिकै आठ वर्ष बित्छ, न पढाइ पूरा हुन्छ न भनेजस्तो पैसा बचाउन सकिन्छ। त्यसैले यता फर्कन लाज लागेर उतै जसोतसो काम गरेर बस्नेहरू धेरै भेटेको छु।”
कति चाहिँ अमेरिकी जीवनशैली अपनाउने क्रममा ऋणमा घर–गाडी किनेर किस्ता तिर्दातिर्दै १०–१५ वर्ष वितेको पत्तो पाउँदैनन्। नेपाल फर्कन सकेकोमा आफूलाई भाग्यमानी ठान्ने नयनतारा भन्छिन्, “घर–गाडी जोड्नेदेखि हरेक कुरा ऋणबाट चल्ने भएकाले धेरै नेपाली क्रेडिट लाइफमा फँसेका हुन्छन्। यो चक्रव्यूहमा परेपछि उम्कन गाह्रो पर्छ।” यूकोका भनाइमा, नेपालीहरूको जमघटमा नेपाल फर्कन्न भन्ने भेट्न मुश्किलै पर्छ। सबै जान्छु, जान्छु भन्छन् तर, धेरै कारणले फर्कन सक्दैनन्।
जसरी पनि अमेरिका जान चाहनुका पछाडि पनि धेरै कारण छन्। धेरैजसो नेपालीहरू पैसा कमाउन र सम्पन्न जीवन बिताउन जान्छन्। उच्च र मध्यमवर्गीय नेपालीको अमेरिका मोहको एउटा मुख्य कारण नेपालको पारिवारिक र सामाजिक परिवेशबाट स्वतन्त्र जीवनशैली अँगालेर घुम्ने, रमाइलो गर्ने चाहना हुने गर्दछ, यद्यपि यहाँको उच्च वर्ग अमेरिका पुगेपछि मध्यम वर्गमा र मध्यम वर्ग निम्न वर्गमा परिणत हुन्छ। नेपालका मध्यम र निम्न मध्यम वर्गका लागि भने अमेरिका आकर्षक नै छ, जहाँ धेरैले आफ्ना सपना साकार पार्ने प्रयास गर्छन्। त्यसैगरी छात्रवृत्ति पाउन सकिने र उच्च शिक्षा पाएपछि काम पाइने सम्भावना भएकाले पढ्न जानेहरूका लागि उत्तिकै आकर्षक गन्तव्य बनेको छ अमेरिका। कुनै गोष्ठी वा कार्यक्रममा भाग लिन पुगेर उतै पलायन हुनेहरू पनि छन्। अहिले पनि डलरलाई नेपाली रुपैयाँसँग तुलना गरेर सम्पन्न जीवनको सपना देख्ने नेपालका धेरै बाबु–आमा छोराछोरीलाई अमेरिका धकेल्न आतुर देखिन्छन्। यसरी धकेलिएका छोरा–छोरी पनि नफर्किएका र आफू पनि उता गएर बस्न नसकेको अवस्थामा बुढेसकालमा एक्लिएका बाबु–आमाको पीडा र बिलौना आफ्नै ठाउँमा छ।
अमेरिका छाडेर नेपाल फर्कनुका पछाडि त्यहाँ घुलमिल हुन र काम गर्न नसक्नु अनि नेपालमै केही गर्ने चाहना हुनुबाहेक पनि केही कारण छन्, जसले विशेषतः नेपाली युवालाई स्वदेश फर्किन प्रेरित गरेको छ। त्यहाँ उच्च शिक्षा हासिल गरेर नेपाल फर्कँदा यहाँ 'सानो पोखरीको ठूलो माछा' बन्न सकिने सम्भावना भएकाले उनीहरू फर्कन्छन्। पछिल्लो समयमा नेपालमै भएको शहरीकरण र आधुनिकीकरणले गर्दा युवाहरूलाई अमेरिकाको जस्तो 'फ्रिडम' खोज्न विदेशिनु नपर्ने स्थिति सिर्जना भएको छ। डान्सपार्टी जानेदेखि ब्वाईफ्रेण्ड–गर्लफ्रेण्ड राख्ने सामाजिक वातावरण यहीँ निर्माण हुँदै गएको छ।
नेपालको राजनीतिक अवस्था र अर्थतन्त्रमा पर्याप्त सुधार नभएको अवस्थामा त खुशीसाथ अमेरिका छाडेर फर्कनेहरू बढिरहेका छन् भने यसले देशमा पूर्ण शान्ति र हरेक क्षेत्रमा सुधार हुने हो भने धेरै दक्ष नेपालीहरू आफ्नै देश फर्कने राम्रो सम्भावना देखाएको छ।