स्कूलको कुरा हो, म Upper KG मा हुँदाको। पढाइमा अल्छी र कमजोर दुबै थिएँ म जसले गर्दा प्राय टिचरहरुको शिकार भइरहन्थें। शान्ति मिस भनेपछि पूरा कक्षा थर्कमान हुन्थ्यो त्यतिखेर। उनले होमवर्क दिंदा भोलि पल्ट नबुझाउने कोही पनि हुँदैन थियो.....म बाहेक।
त्यस दिन बुझाउनु पर्ने कुनै गृहकार्य थिएन। म ढुक्क थिएँ आज मेरो कपाल बकुल्ला भुत्ल्याए झैं गरेर भुत्ल्याइँमा पर्ने छैन भनेर। तर शान्ति मिस न हो, शायद मलाई नभकुरि उनलाई खाएकै पच्दैन थियो होला। मलाई उभाएर सोधियो-'Apple' को स्पेलिङ् भन्?'
ल बर्बाद, उनले फलफूलको नाम टिपाएर एक हप्ता अगाडी नै घोक्नु भनेको मैले त भुसुक्कै बिर्सेछु। हैन, सोधे पनि 'Apple' नै किन सोधेको, 'Orange' को सोध्नु, O-R-A-N-G-E मलाई कण्ठै थियो, GRAPE सोध्नु, G-R-A-P-E भन्ने पनि याद छ। तर यो याद नभएको APPLE नै किन? Apple भनेको के हो शुद्ध थाह छैन आफूलाई चाहीं। टाउकोमा लिखा परेको पाराले कनाउँन थालें (परेको चाहीं थिएन)।
'आउँदैन तलाई त्यसो भए?'
मैले कपाल कनाउन छाडें। मिसले नै भुत्ल्याउने भएपछि मैले Warm-Up किन गर्नु!
'छिटो भन्।' उनले आँखा तरिन्।
आँखा तरे पनि, खोला तरे पनि, आए पो भन्नु। कक्षाको सबभन्दा ठूल स्वर भएको गफाडी म त्यतिखेर Pin-Drop-Silent को हालतमा थिएँ। तिखो पिन मेरै माथि खस्दैछ भन्ने पनि थाह थियो मलाई।
'Apple, Apple; स्याउको spelling पनि आउँदैन तँलाई?' उनी कुर्लिइन्।
ए...........स्याउ पो। के के नै सोधेको होला भनेको त स्याउ रे। हेत्, हात्ती आयो हात्ती आयो, फुस्सा। म मनमनै दङ्ग परें। कालो भएको मुखमा पनि मुस्कान आयो, शरिर थर्र काम्न छाडे।। अनि जवाफ दिए मैलेँ - 'S-A-याउ = स्याउ'।
म दुइदिन स्कूल गइन त्यस पछि। तेस्रो दिन मलाई A-P-P-L-E apple, apple भनेको स्याउ कण्ठै थियो।