के हो सरकार? यो त अति नै भएन र? तपाईले ठूला-ठूला कुरा गरेर देशको सत्ता लिएको पनि थुप्रै समय वितिसक्यो। हुने विरूवाको चिल्लो पात नहुने विरूवाको खस्रो पात भने झै तपाईका चुरीफुरीले एक किसीमको भविष्यको खाका तयार पारिसकेको छ।
काठमाडौं र केही जात तथा परिवारलाई नै नेपाल ठान्ने पुरानो मानसिकताबाट तिमी कहिल्यै अगाडि बढ्न सकेनौं। केही राणा, थापा, बस्नेत र शाहहरूको बुई चढेर सारा जनताको मालिक ठान्ने र जनतालाई दास ठान्ने तिम्रो प्रवृत्ति र राणाहरूको प्रवृत्तिमा कहाँनेर फरक छ कुन्नि? हुन त तिम्रा जिजुबाजेले केही क्षणका लागि शासन सत्ता चलाउनका लागि यो देश राणाहरूलाई दिएका थिए रे, यो मैले भनेको होइन, तिम्रै बाजे त्रिभुवन सरकारले २००७ सालमा प्रजातन्त्र दिने बेला बक्सेको भाषणमा भनेको हो। क्या अचम्म छ भने, तिमीहरूले दिदैमा दिइने र नदिइदैमा नदिइने कस्तो खाले परम्परा हो यो?
मोवाइल बन्द छ (प्रिपेड), एफएमहरू बन्द हुने अवस्थामा छन्, प्रकाशनहरूलाई बन्द गराइदैछ, जति ठूला कुरा गरेपनि काठमाडौ भन्दा बाहिर तिमीले चाहे जस्तो केही हुने वाला छैन, नयाँ लगानीको सम्भावना देखिदैन र भएका र विकास तर्फ अग्रसर केही क्षेत्रहरूलाई तिमी जानीजानी तहस नसह गर्न लागेका छौ जसले प्रष्टरूपमा या त तिमीहरू जंगल पसेर लड या ता विदेश तिर छिर भनेको छ। काठमाडौं र शहरी क्षेत्र अन्य जात (शाह परिवारका आफन्त बाहेक) र गरिवहरूका लागि होइन। यहाँ हामीहरूको राज हुनु पर्छ र हामीहरूका खान्दान र नातेदारले भने अनुसारको कानून बन्नु प्रछ र उनीहरूले मात्र सबै खाले स्वतन्त्रताको उपभोग गर्न पाउनु पर्छ। किन भने यो अधिकार, राजपरिवार, शाह परिवार वा यिनीहरूका नजिकका नातेदार र चाटुकारहरूलाई मात्र छ। उता जंगलमा अर्को तानाशाहहरुको राज छ। दुई तानाशाहहरूको लक्ष्य भने एक छ। सोझा साझा र तटस्थ जनताको यो देशमा कुनै अस्तित्व नै छैन। सोच्दा सोच्दै दिक्क लागेर आउछ? खै त जनताहरूको अस्तित्व? जनताहरू कहाँनेर बस्छन् यी दुई तानाशाहहरू विचको लडाइमा?