घर्तीलाई शंका छ- काठमाडौंमा मानिसहरुले चितुवा पालेका छन्
http://setopati.com/samaj/47729/
काठमाडौं शहरमा बेला बेला चितुवा पस्छ। चितुवा पसेको घरमा मानिसको भीड लाग्छ। कोही हेर्छन्, कोही चितुवालाई जिस्काउँछन्। कोही डराउँछन्। तर, सुरक्षित तवरले चितुवालाई पक्रने र जंगल पुर्याउने शहरमा एउटा मात्र मान्छे छन्, राधाकृष्ण घर्ती।
ललितपुर गोदावरीका घर्ती जावलाखेल चिडियाखानाका भेटनरियन हुन्। जागिरका २९ वर्षमा उनले काठमाडौं शहर छिरेका करिब पाँच दर्जन चितुवा समातेका छन्। तीमध्ये केहीलाई पर्सा र चितवन पठाएका छन् भने धेरैलाई शिवपुरी राष्ट्रिय निकुञ्जमा छोडेका छन्।
रामपुर क्याम्पसबाट आइएसी एजी एनिमल साइन्स पढेका घर्तीले २०४४ सालमा सदर चिडिया खानामा नायब प्राविधिक सहायकका रूपमा स्थायी जागिरमा छिरेका हुन्। ‘त्यहाँभन्दा अघि त्रिपुरेश्वरको अफिसमा अस्थायी थिएँ,’ उनले भने ‘अहिले यहाँ सुब्बा सरहको पद हो मेरो।’
उनले चितुवा कसरी समात्ने भन्ने कहीँ पढेको छैनन्, अहिलेसम्म अनुभवका आधारमा काम गरिरहेका छन्। ‘सानोतिनो तालिम भने पनि लिएको छु’ उनले भने ‘भारत र बेलायतमा पनि तालिम लिएँ। तर धेरै कुरा त काम गरेर नै सिकियो।’
सुरूमा त उनलाई पनि डर लाग्थ्यो चितुवा समात्न। ‘पछिपछि अनुभव बढ्दै गयो, काम पनि सिकियो,’ घर्तीले भने ‘अचेल त सजिलै लाग्छ।’
घर्तीलाई चितुवा समाउन सहयोग गर्छन्, विश्वनाथ रिजाल। रिजाल राष्ट्रिय प्रकृति संरक्षण कोषमा काम गर्छन्। प्रकृति संरक्षण कोषमा जनावरसम्बन्धी काम गर्ने रिजाल घर्तीलाई चितुवा समाउनु पर्दा सघाउन आउँछन्।
घर्ती र रिजाललाई लाग्छ–अझै पनि धेरै मान्छेलाई चितुवा, बाघ र बन बिरालो बीचको फरक थाहा छैन। फरक मात्र होइन चितुवा किन शहर पस्छ र शहर पसेपछि के गर्नुपर्छ भन्ने पनि मेसो छैन।
चितुवा र बाघमा के फरक छ?
चितुवा र बाघ ठूला बिराला प्रजातिका जनावर हुन्। धेरै मानिसले चितुवालाई देख्दा पनि बाघ नै भन्ठाछन्। यिनीहरुमा छालाको रङ फरक हुन्छ, चितुवाको शरीरमा थोप्ला थोप्ला हुन्छ भने बाघको टाटा परेको हुन्छ। बाघ चितुवाभन्दा ठूलो हुन्छ। पहाडी र हिमाली भेगमा चितुवा बस्छ भने बाघ तराईमा बस्छ।
चितुवा किन शहर पस्छ?
मुख्य कारण हामीले उसको बासस्थान हडप्नु नै हो। बनजंगल मासिएपछि चितुवा गाउँ पस्छन्। अर्को कुरा आहार पनि हो। बिरामी वा बुढो भएपछि चितुवाले मृग मार्न सक्दैन। बरू कुकुर मार्न सजिलो हुने भएकाले चितुवा शहर पस्छ।
पछिल्लो अध्ययनले के देखाएको छ भने चितुवाको स्वादमा पनि फरक आएको छ। पहिला मृग मन पराउने चितुवा अचेल कुकुर र बाख्राको स्वाद मन पराउन थालेका छन्। त्यसको कारण मृगको भन्दा बाख्रा र कुकुरको मासुको स्वाद नुनिलो हुन्छ। एक पटक कुकुर वा बाख्राको मासु खाएपछि त्यही स्वादको आहारका लागि चितुवा शहर पस्छ। शहर पसेर भुस्याहा कुकुरलाई आहारा बनाउँछ।
शहरमा मानिसले चितुवा पालेको आशंका
चितुवा किन सुकुम्बासी टोलमा आउँदैन? किन धनी मान्छेको घरमा मात्र भेटिन्छ? घर्तीका अनुसार मैतीदेवीमा ध्वाँसे चितुवा फेला पर्नु, बौद्धमा चितुवा फेला पर्नुले स्वाभाविक रुपमा शंका जन्माउँछ कि शहरमा कोहीले चितुवा पनि पाल्छन्। बानेश्वर र कुलेश्वरमा भेटिएको चितुवामा फरक छ। बीच शहरमा भेटिने चितुवामा जंगलमा बस्ने चितुवाको जस्तो गन्ध पनि आउँदैन। केही मान्छेले सानो चितुवा पालेको हुन्छन्। ठूलो भएपछि खाना खुवाउन पनि गाह्रो हुन्छ। बन्यजन्तु राख्नु हुन्न भन्ने डरले पनि छोडेका हुन सक्छन् भन्ने शंका छ तर यसको आधिकारिक पुष्टि छैन।
घर्ति भन्छन्, ‘कीर्तिपुरमा चितुवा भेटिनु स्वभाविक हो तर बानेश्वरमा चितुवा भेटिनु अस्वभाविक हो।’
चितुवा कसरी समातिन्छ?
पहिला चितुवा हो कि होइन भन्ने पत्ता लगाउनु पर्छ। हो भने त्यसको तौल कति हो आँकलन गरिन्छ। अनुभवका आधारमा घर्ती हेरेरै चितुवाको तौल अनुमान गर्न सक्छन्।
बेहोस बनाउन डाइलाइटिन र केटालिन औषधि हाल्नुपर्छ। यो औषधि जर्मनी, बेलायत र अमेरिकाबाट मात्र आउँछ। केटालिन प्रतिकेजी २ एमजी र डाइलाइटी प्रति केजी ३ एमजी मिलाएर हाल्नुपर्छ। ५० किलोको चितुवा भए १.५ एमएल केटालिन र २ एमएल डाइलाइटिन हाल्न पर्छ। सिरिन्ज दुई वटा हुन्छन्, एउटामा औषधी हुन्छ, अर्कोमा हावा हुन्छ।
सामान्य सिरिञ्जभन्दा यो सिरिञ्ज फरक हुन्छ। त्यो सिरिञ्जलाई टेल इन्जिट गनमा राखेर टार्गेट मिलाएर चितुवाको पछाडिको फिलामा हान्नुपर्छ।
पहिला पहिला औषधी हान्ने कुरा पर्दाको पाइप जस्तो हुन्थ्यो। त्यसमा औषधीको सिरिञ्ज फिट गरेर टार्गेट बनाएर फुक्नु पथ्र्यो। ठ्याक्कै सनहाई बजाए जसरी। तर अचेल आधुनिक गन आएका छन्।
औषधी हानेको ५ देखि ७ मिनेटमा चितुवा बेहोस हुन्छ। सिरिन्ज हानेपछि चितुवालाई चल्न दिनु हुँदैन। औषधी दिएको चितुवा हिँड्यो भने १० मिनेटमा औषधीले काम नगर्न सक्छ।
औषधी हालेपछि बेहोस भएको छ कि छैन भनेर कान चलाइन्छ। कान चलाउँदा बेहोस नभएको भए प्रतिक्रिया दिन्छ। भएको भए चलाउँदैन। चुप लागेर बस्छ। अनि भित्र गएर कालो कपडाले मुख छोपिन्छ। मुख छोपेपछि बोकेर रेक्स्यू गाडीको केजमा हालेर गन्तब्यमा लगिन्छ।
सानो गल्तीले गर्दा कहिलेकाँही चितुवा बेहोस नहुन सक्छ।
२०७० जेठ ४ गते कपनको एक घरमा बसेको चितुवालाई पनि घर्तीको टोलीले औषधी हान्यो तर सिरिञ्ज चितुवाको फिलामा लाग्नासाथ कसैले टिनमा बेस्सरी ढुंगाले हान्यो र करायो। शान्त बस्नुपर्ने चितुवा बौरियो र बाहिर निस्कन खोज्यो। सबैजना भित्र पसिहालेँ। बाहिर थिए घर्ती। उनैलाई झम्टियो चितुवाले।
२६ वर्षसम्म धेरै चितुवालाई समातेका उनको त्यो दिन चितुवासँग घम्साघम्सी पर्यो। उनी रक्ताम्य भएर चितुवासँग लडिरहे। करिब १० मिनेटको लडाईँपछि चितुवाको मुख च्याप समातेर बसे। हतियारसहितका प्रहरीले चितुवालाई गोली हाने। तर निशाना लाएनन्। चितुवा भाग्यो पछि फेरि गोली हानेर मारियो। ‘चितुवा त्यसरी मार्न हुँदैन थियो,’ घर्ती भन्छन्, ‘हाम्रै गल्तीले चितुवा बिच्केको हो, उसको गल्ती होइन।’
कसैको घरमा चितुवा आयो भने के गर्ने त?
चितुवा राति चर्ने र दिउँसो सुत्ने जनावर हो। शिकारको खोजीमा शहर पस्छ। तर धेरै उज्यालो भएपछि ऊ अलमलिन्छ। अनि जहाँ सजिलो, गोप्य ठाउँ जस्तैः ट्वाइलेट, बन्द कोठा, भर्याङ मुनि बस्छ। उसलाई कुनै बाधा नपुर्याउने हो भने रात परेपछि ऊ आफ्नै ठाउँमा जान्छ। चितुवादेखि डराउनु पर्दैन। तर उसलाई 'डिस्ट्रब' भने गर्नुहुन्न। जंगली जनावर आएपछि हान्ने, जिस्काउने, घाइते बनाउने गर्ने हुन्न।
घर्ती भन्छन्–नजिकको प्रहरीलाई खबर गर्ने, घरलाई सिल गरिदिने, बाहिरको मान्छेलाई जान नदिने, उसलाई शान्तसँग बस्न दिने। त्यति गर्यो भने चितुवालाई सहज हुन्छ। उसले केही हानि गर्दैन।
सदर चिडियाखानामा घर्ती र उनका एक जना साथी मात्र छन्, चितुवा समात्न सक्ने। चितुवालाई बेहोस बनाउने औषधी चिडियाखानामा मात्र छ। यस्ता प्राविधिक बर्दिया र चितवन राष्ट्रिय निकुञ्जमा पनि छन्। ‘सर हुनुभएन भने त काठमाडौंमा पसेको चितुवा कसैले समाउन सक्दैन,’ रिजालले घर्तीतिर हेर्दै भने। घर्ती हाँसे।
उनीहरुको कामको वेवास्ता र अबमूल्यन गरेकोमा घर्ती र रिजालको गुनासो छ।
चितुवा शहर पस्ला कि भनेर डराउनुको साटो प्रविधिको प्रयोग गर्नुपर्ने बताउछन रिजाल। उनले भने ‘रेडियो कोलरिङ प्रविधिमार्फत् चितुवा शहर पसेको थाहा पाउन सकिन्छ,' उनले भने 'काठमाडौंमा त्यो आवश्यक भैसक्यो तर सरकारको त्यस तर्फा ध्यान गएको छैन।’
‘चितुवा आउँदा सबै जम्मा हुन्छन्। हल्लाखल्ला हुन्छ। अर्को दिन सबैले बिर्सन्छन्, अहिलेसम्म भएको त्यही छ,’ घर्तीले भने ‘चितुवा समाउन जाने काम चिडियाखानाको होइन र पनि हामी जान्छौं तर हामीलाई प्रोत्साहन छैन।’
कुनै ठाउँमा चितुवा पस्यो भन्ने खबर पाएको सुन्नासाथ १५ मिनेटमा पुग्ने टिम तयार राख्नु आवश्यक छ जस्तो लाग्छ उनलाई। ‘हाम्रोमा त आदेश पर्खदापर्खदै घण्टौं बित्छ’ घर्तीले भने, ‘बुधबार कुलेश्वरमा चुतुवा पसेको सात घण्टापछि आउने भन्दै स्थानीय रिसाएका थिए।’
आफू पछि यो काम कसले गर्छ? त्यसको तयारी सरकारले नगरेकोमा पनि उनलाई पीर छ। ‘हामी तीन जना थियौं। एक जना रिटायर्ड भइसक्नु भयो। म र अर्को साथी पनि रिटायर्ड हुने बेला भइसकेको छ। हामी पछि को आउने हो भन्ने त सरकारले बेलैमा सोच्नु पर्यो नि’ उनले भने।
तस्बिरः भरतबन्धु थापा/नारायण महर्जन
प्रकाशित मिति: शुक्रबार, जेठ २१, २०७३ १०:५०:५०