जिन्दगीमा धेरै योग वियोगहरु भेटेकोछु , भोगेको छु | अस्ति शानिबार जुन दुखद घटनाको साक्षी हुन पुगें , निकै मार्माहत छु |
मेरो भाइ बुहारी ( भाइ राकेश तुलाधरको श्रीमती ) बिगत केही महिना देखि अर्बुद रोगको दुर्भाग्यशाली शिकार भएकी थिइन्| समय समयमा स्वास्थ स्थितीको जानकारी लिंदै गरेको र बुहारीको उपचारमा सकारात्मक प्रगति संग परिचित थिएँ | समय मिलाएर गत शनिबार हामी वाशिंटन डिसी स्थिति जर्ज टाउन युनिभर्सिटीको मेडिकल सेन्टर जान भनी निस्क्यौं |
घरबाट करीब २० माइल्स जति पुगे पछी फेरी फोन आयो उनै दाईको | बुहारी इश्वरी यो संसारमा रहेनन् | भर्खरै केही समय अघि देह त्याग गर्नु भयो |
६५ माइल्स को गतिमा चलाउँदै गरेको गाडी रोकियो | मानौ पृथ्वीको स्वाभाविक गति नै रोकियो | केही सोच्न सकिन | स्वास्थ कामना गरेर एउटा सुखद क्षण भनेर साइत गरेर निस्केको यात्रा ..बीच बाटो मै ........|
जसो तसो मन सम्हालेर ३ घन्टाको रफ्तारे जिन्दगीलाई जर्ज टाउन अस्पताल पुर्याइयो | रसाएका आँखाहरुको भिडमा मिस्सिएँ | भाइ र काकी हाल बेहाल थियो |
केही समय पछी अस्पतालका एक कर्मचारीले परिवारका निकट सदस्यहरुलाई मात्र अन्तिम भेट र सीमित धार्मिक संस्कार गर्न दिने भन्ने जानकारी दिनु भयो र हामीलाई पार्थिव शरीर भएको ठाउँमा लगियो |
बर्थ डे विश गर्न पुष्प गुच्छा लिर गएका हामी लाश माथी ह्याप्पी बर्थ डे , गेट वेल सून लेखिएको कार्ड सहित श्रद्धा सुमन चढाएर ढलपल आँखालाई नरोउ भन्दै निस्क्यौं |
वाशिंटन डिसी मेट्रो एरियामा सबैका प्यारी , इश्वरी | दिपंगत आत्मले सुखावती भूवनमा बास गरुन्|
हार्दिक श्रद्धान्जली |